काठमाडौँ । झिलीमिली बत्तीहरूको चमकसँगै यस वर्षको दीपावली पर्वआज धनतेरसबाट औपचारिक रूपमा सुरु हुँदैछ । राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा एक हप्ता अघिदेखि नै घर–घरमा तिहारको रौनक सुरु भइसकेको छ । बत्तीको उज्यालोले रातमा सहर झन् रमणीय बनेको छ भने नागरिकहरूमा चाडपर्वको उत्साह छाएको छ ।
आज अपराह्नदेखि सुरु हुने त्रयोदशी तिथिमा धनतेरस मनाइनेछ । आजको दिन सन्ध्याकालमा नयाँ सामान खरिद गरी पूजा गर्दा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
यससँगै भोलि आइतबार काकतिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । सोमबार औँसीका दिन गाईपूजा र सन्ध्याकालमा लक्ष्मीपूजा, मङ्गलबार गाईपूजा तथा देउसीभैलो, र अन्तिम दिन बिहीबार भाइटीकासँग दीपावली सम्पन्न हुनेछ ।
यसपालि तिथिको घटबढका कारण पाँच दिनको ‘यमपञ्चक’ एक दिन बढेर छ दिन लामो भएको छ ।
घरघरमा आज उज्याला बत्ती बाल्दै नयाँ किनिएका धातुका भाँडा, गहना र लक्ष्मीको प्रतिमाको पूजा गर्ने परम्परा प्रचलित छ ।
झिलिमिली बत्ती र उल्लासपूर्ण माहोलबीच आजको धनतेरसले दीपावली पर्वको शुभारम्भ गर्दै भोलिको कागतिहारको प्रतीक्षा झन् उत्साहपूर्ण बनाएको छ ।
तस्बिर : रङ्गोली, श्रोत- गुगल




