काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५औं महाधिवेशनपछि नेतृत्वबाट विदा लिने घोषणा गर्दै संगठनलाई नयाँ नेतृत्वका लागि मार्ग प्रसस्त गरेका छन् ।
मङ्गलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा लिखित सम्बोधन पढ्दै देउवाले भने, “आगामी १५औं महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।” उनले नेतृत्व हस्तान्तरणलाई प्राकृतिक र आवश्यक प्रक्रियाको रूपमा व्याख्या गर्दै भने, “घरमा सधैं एउटै मुली रहँदैन, पार्टीमा पनि सधैं एउटै सभापति रहँदैन — यही हाम्रो लोकतान्त्रिक सौन्दर्य हो।”
देउवाले तत्कालका लागि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन् ।
सम्बोधनमा देउवा अत्यन्त संयमित, परिपक्व र विवेकी देखिए । उनले हालैको जेन–जी आन्दोलनका सकारात्मक पक्षहरूको समर्थन गर्दै आन्दोलनमा मृत्यु भएका प्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरे ।
साथै, उनले आफ्नै निवासमा भएको आगजनी, परिवारमाथिको आक्रमण र तोडफोडलाई “नेपालको इतिहासकै एउटा डरलाग्दो क्षण” भन्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरे ।
त्यति मात्र होइन, उनले राष्ट्रपति रामचन्द्र पौडेलले कठिन समयमा संविधान र राष्ट्रको स्थायित्वका लागि खेलेको भूमिकाको प्रशंसा गरे । सुरक्षाकर्मी र कार्यकर्ताले देखाएको साहसको खुलेर प्रशंसा गर्दै उनले सबै राजनीतिक दलबीच संवाद र सहकार्यको आवश्यकता औंल्याए ।
“हामी कांग्रेस हौँ, हामी लोकतान्त्रिक हौँ,” देउवाको यो भनाइले उनको आत्मविश्वास र संस्थाप्रतिको निष्ठा झल्काउँछ ।
समग्रमा, आजको सम्बोधनमा देउवा न आक्रोशित देखिए, न भावनामा बगे । बरु एउटा अनुभवी, जिम्मेवार र राष्ट्रप्रेमी नेताको रूपमा प्रस्तुत भए । उनले पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने उद्घोषसहित आफ्नो राजनीतिक यात्राको सुसंस्कृत समापनको संकेत दिएका छन् ।
उनले आफूलाई पाँच पटक प्रधानमन्त्री भनेर प्रचार गरिएपनि त्यो एक कार्यकाल बराबरको समय समेत नभएको गुनासो गरे । आफूले देशको अहित हुने काम नगरेको र सक्रिय राजनीतिमा नरहे पनि देशको हितमा लागिरहने प्रतिवद्धता प्रकट गरेका छन् ।






