काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा तथा विद्यार्थी संगठन वाइसीएल नेपाल र अखिल (क्रान्तिकारी)ले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने भएका छन्।
अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा अधिवक्ता बिराज थापाका अनुसार उनीहरूले पार्टी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सामाजिक सञ्जालमार्फत झुठो प्रचार र अफवाह फैलाएकोले साइबर ब्युरोमा उजुरी दर्ता गर्न लागिएको हो ।
थापाले भने, “सामाजिक सञ्जालमार्फत पार्टी र अध्यक्षमाथि झुठा प्रचार गरेर मानमर्दन गर्ने उद्देश्य प्रष्ट देखिएको छ। त्यसैले प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाहीको माग गर्दै उजुरी दर्ता गरिनेछ।”
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले झुठा र भ्रामक अभिव्यक्तिको खण्डनसहित कानुनी कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो। तथापि उनीहरूलाई सरकारले अनुसन्धानको दायरामा ल्याएको छैन ।
भदौ २४ गते घर जल्नु अघि अध्यक्ष प्रचण्डले दुई करोड रुपैयाँ दुईवटा ट्रकमा अन्यत्र लगेको, उनको छोरी गङ्गा दाहालको घरमा सुरक्षाकर्मी राखेर दुरुपयोग गरिएको लगायतका अफवाह फैलाइएको भन्दै माओवादी कार्यकर्ताहरु आक्रोशित छन् ।






