कांग्रेसभित्र एआई बहस, के भन्छन् सभापति देउवा?

sher bahadur deuba
sher bahadur deuba

ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ।

यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ।

कार्यक्रमको विशेषता – उद्घाटन नै एआईमार्फत

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोबाइलमा एआई फङ्सन क्लिक गरी बत्ती बालेर कार्यक्रमको औपचारिक शुभारम्भ गरे।

देउवाले एआईको सही प्रयोगले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै देशको विकासमा अभूतपूर्व गतिशीलता ल्याउन सक्ने बताए।

पुरानो ढर्राको’ कांग्रेस अब डिजिटल मोडमा
अहिले नेपाली कांग्रेसमा दिनहुँजसो नीतिगत बहसहरू भइरहेका छन्, तर यो पटकको बहसले केही फरक संकेत गरेको छ। ‘पुरानो ढर्राको पार्टी’ भनेर चिनिँदै आएको कांग्रेसले एआई जस्तो नवीनतम प्रविधिलाई मुख्य विषय बनाएर केन्द्रीय तहमै छलफल थालेको छ।

जनजीवन, कृषि प्रणाली र लागतप्रभावी उत्पादन सुधारका विषयमा समेत बहस गरिएको कार्यक्रममा कांग्रेसले नयाँ दिशा लिएको देखिएको छ।

रणनीति र नेतृत्वमा एआईको भूमिकाबारे गहन बहस
कार्यक्रममा विभाग संयोजक सुशीला मिश्रले एआईलाई विकासको सशक्त सहयात्रीका रूपमा चित्रण गर्दै यसको जोखिम न्युनिकरण गर्न दीर्घकालीन नीति आवश्यक रहेको बताइन्। एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले अज्ञानी डर हटाएर तथ्यमा आधारित सोच अपनाउनुपर्नेमा जोड दिँदै भारतको एआई क्षेत्रको प्रगतिबाट सिक्नुपर्ने धारणा राखे।

डिजिटल नेपाल र एआई पूर्वाधारको मूल्याङ्कन
कार्यक्रममा ‘डिजिटल नेपालको विकास यात्रा’ शीर्षकको भिडियो प्रस्तुतिसँगै ‘के नेपाल एआईका लागि तयार छ?’ भन्ने विषयमा प्यानल छलफल भयो। टुटलका संस्थापक इञ्जिनियर शिक्षित भट्टले नेपालमा एआई पूर्वाधार, नीतिगत तयारी र सम्भावनाको समग्र रिपोर्ट प्रस्तुत गरे।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, प्रा. डा. सुदन झा, ई–गभर्नेन्स आयोग प्रमुख कार्यकारी दीपेश विष्ट, डेटा ड्रिभन गभर्नेन्स विज्ञ सजना महर्जन लगायतका वक्ताहरूले प्रविधिलाई मात्र नभई राजनीतिक दृष्टिकोण, नीति निर्माण र दीर्घकालीन सोचमार्फत एआईलाई अघि बढाउनुपर्ने धारणा राखे।

नीतिगत हस्तक्षेपको तयारी
समूह छलफलको अध्यक्षता गरेका डा. मिनेन्द्र रिजालले एआई विकास अब टार्न नसकिने बाटो भएको बताउँदै समावेशी र उत्तरदायी नेतृत्वसँग यसको समन्वय गर्नु ठूलो चुनौती हुने स्पष्ट पारे।

विज्ञान तथा सूचना प्रविधि विभागको अगुवाइमा थप छलफल र नीतिगत हस्तक्षेपको तयारी भइरहेको जानकारी पनि दिइयो।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ बाट अब ‘प्रविधि, समावेशिता र जवाफदेहीतामा’
राजनीतिक आन्दोलनदेखि संविधान निर्माणसम्म नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले अब प्रविधिमा समेत अग्रसर हुन खोजेको देखिएको छ। कार्यकर्ताहरूको धारणा छ – देशलाई परिवर्तनमा डो¥याएको पार्टीले अब डिजिटल नेपाल निर्माणमा समेत नेतृत्व लिनुपर्छ।

यसरी, नेपाली कांग्रेसले एआई बहसमार्फत आफूलाई केवल इतिहासको पुरानो पार्टी मात्र नभई युग सुहाउँदो बन्न एआईलाई भविष्यको सम्भावनासँग पनि जोड्न थालेको सन्देश दिएको छ।

sher bahadur deuba
sher bahadur deuba