भक्तपुर दरबार क्षेत्रमा आन्दोलनको असर, सुनसान बन्दै पर्यटकीय शहर

Bhaktapur darbar square
Bhaktapur darbar square

भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य भक्तपुर दरबार क्षेत्रमा पर्यटकको चहलपहल घटेको छ । भिडभाड हुने सो क्षेत्र जेनजी आन्दोलनपछि अचेल सुनसान बन्दै गएको छ।

केही दिनअघि सम्म दैनिक १ हजार २ सय देखि –१ हजार ५ सय सम्म बाह्य पर्यटक(बिदेशी)ले भ्रमण गर्ने यो दरबार क्षेत्र अहिले घटेर दैनिक दुई सयको हाराहारीमा सीमित भएको छ।

नेपाल आउने पर्यटकहरूले भदौ २३ गतेदेखि आफ्ना सम्पूर्ण टिकटहरू रद्द गरेपछि भक्तपुर दरबार स्क्वायरमा पनि ठुलो असर परेको भक्तपुर नगरपालिका पर्यटन शाखा प्रमुख गौतम प्रसाद लासीबाले ननस्टपखबरलाई जानकारी दिए। उनका अनुसार, “नेपाल आउने पर्यटकहरूको करिब ९० प्रतिशत संख्यामा गिरावट आएको छ। मूल स्रोत नै सुक्दा दरबार स्क्वायर आउने संख्या घट्नु स्वाभाविक हो।”

दरबार क्षेत्र प्रवेशमा दैनिक १ हजार बढी टिकट बिक्री हुने गरेकोमा अहिले जेनतेन सय टिकट मात्र बिक्री हुने गरेको टिकट वितरण गर्ने कर्मचारी रामकृष्ण खुलीमुली बताउँछन्।

भारतीय पर्यटकलाई ८ सय र तेस्रो मुलुकका पर्यटकलाई २ हजार रुपैयाँका दरले टिकट बिक्री हुँदै आएकोमा हाल पर्यटक घट्दा आम्दानीमा पनि तीव्र गिरावट आएको छ।

भदौ २३ गतेदेखि जेन-जी उमेर समूहले चलाएको आन्दोलन, त्यसमा भएको हिंसा, आगजनी र तोडफोडका कारण देशैभरको पर्यटन क्षेत्र प्रभावित भएको हो। हालसम्म ७३ जनाको मृत्यु र २ हजारभन्दा बढी घाइते भएको विरोध प्रदर्शनपछि सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शीतल निवासलगायतका संरचना क्षतिग्रस्त हुँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको पर्यटन ब्यवसायी बताउँछन् । भक्तपुर दरवार क्षेत्रमा पनि आगजनी प्रयास भएको थियो ।

तेलङ्गना (भारत) का धार्मिक पर्यटक अन्ना राजेन्द्रन परिवारसहित भदौ १८ गते नेपाल आएका थिए। पशुपतिनाथ र डोलेश्वरनाथको दर्शनपछि पोखरा भ्रमण गर्ने योजना भए पनि आन्दोलनका क्रममा उनीहरूको गाडी तोडफोड भयो, सम्पत्ति लुटियो र परिवार विचल्लीमा परेको उनले बताए।

पर्यटन व्यवसायीहरूको भनाइमा अब आउने तीन महिना मुख्य पर्यटन सिजन भए पनि पर्यटक नआउँदा भक्तपुर नगरपालिकाले दैनिक १५–२० लाख आम्दानी गुम्ने अनुमान गरिएको छ। नगरको पर्यटन शाखाअनुसार हाल ७०–८० जना पथप्रदर्शक (टुरिस्ट गाइड) को रोजगारी तत्काल संकटमा परेको छ।

अहिले भक्तपुर दरबार स्क्वायरमा स्थानीयबासीको आवतजावत बाहेक पर्यटकको चहलपहल हराएको स्थानीय ब्यवसायी शान्ति सुलु बताउँछिन् ।

पर्यटन व्यवसायीहरू भन्छन्, “अब आउने तीन महिना नै मुख्य सिजन हो, तर पर्यटक नै आएनन् भने भक्तपुर मात्र होइन, देशकै पर्यटन क्षेत्र धरासायी हुन्छ ।” 

भक्तपुर दरबार स्क्वायरको ढोकामा उभिँदा एक प्रश्न ठोकिन्छ—कोभिड पछि तङ्ग्रिएर सधैं पर्यटकको भीडले भरिने यो ऐतिहासिक स्थल फेरि पुरानै रौनकमा कहिले फर्केला?