काठमाडौं । जेन–जी आन्दोलनपश्चात् उत्पन्न अन्योलग्रस्त परिस्थितिमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) वामपन्थी एकताको पक्षमा उभिएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले केन्द्रीय सचिवालयको १० बुँदे निर्णय सार्वजनिक गर्दै विचार–सिद्धान्त मिल्ने पार्टीहरूसँग एकता र अन्यसँग सहकार्य गर्ने पहल अघि बढाउने निर्णय भएको जनाएका छन् ।
बैठकले मुलुकको सार्वभौमिकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएको उनले बताए । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन समयमै, शान्तिपूर्ण र निष्पक्ष ढंगले गर्न सरकार र सरोकारवालाहरूलाई ध्यानाकर्षण समेत गराइएको उनले जानकारी गराए ।
पार्टीले विगतको समीक्षा गर्दै गल्ती सच्याउँदै राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र समृद्धिको पक्षमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
सचिवालयले पार्टी पङ्क्तिलाई उच्च मनोबलका साथ नियमित गतिविधि सञ्चालन गर्न र नागरिक समाज तथा राजनीतिक शक्तिसँग हातेमालो गर्दै अघि बढ्न निर्देशन दिएको छ ।

