नेपालको इतिहास र वर्तमान राजनीतिक यात्रा एउटा विडम्बनापूर्ण कथा हो। परिवर्तनका लागि पटक–पटक आन्दोलन भयो, रगत बग्यो, हजारौंले बलिदान दिए, तर देश अझै पनि उही समस्याको चक्रभित्र कैद छ। आजको यथार्थ यो हो कि नेपाली जनताले धेरै पटक आक्रोश व्यक्त गरे पनि त्यसभित्रको पीडा र चाहनाको सुनुवाइ भएको छैन। त्यसैले, प्रश्न उठ्छ—किन नेपालले अझै पनि अग्रगमनको बाटो समाउन सकेन?
प्रमुख कारणहरू
१. विदेशी स्वार्थ र दलाल प्रवृत्ति
राणाकालदेखि आजसम्म नेपाली नेताहरूको ठूलो भाग विदेशी स्वार्थ पूरा गर्ने दलालको भूमिकामा देखिएका छन्। पद, पैसा र प्रतिष्ठाको लोभमा उनीहरूले आफ्नै देशको हितलाई पन्छाएर बाहिरका स्वार्थलाई प्राथमिकता दिएका छन्। यो प्रवृत्ति नै देश विकासको मूल बाधा हो।
२. जनताको कमजोरी
नेताले मात्र होइन, जनताले पनि आफ्नो अधिकारको सही प्रयोग गर्न सकेनन्। थोरै लाभ र प्रलोभनमा सजिलै बिक्ने संस्कारले योग्य नेतृत्वलाई जन्माउन सकेन।
३. शासन प्रणालीको असक्षमता
नेपालमा परिवर्तनका अनेक प्रयास भए तर शासन प्रणाली नै समस्या समाधान गर्न असमर्थ रह्यो। हरेक पटक नयाँ व्यवस्था आयो, तर जनताको आधारभूत समस्या उस्तै रह्यो।
४. ‘मै ठूलो’ मानसिकता
समाजमा अधिकारभन्दा बढी अधिकार पाउने प्रवृत्ति मौलायो। व्यक्तिगत अहंकार र ‘देश भन्दा म ठूलो’ भन्ने सोचले सामूहिक प्रगति अवरुद्ध भयो।
५. क्रान्तिकारी नेताहरूको असफलता
कसैले सम्पत्ति चढाएर, कसैले बलिदान दिएर क्रान्ति सुरु गरे। तर राज्य प्रणाली र समाजकै नकारात्मक सोचले उनीहरूलाई पनि गलत दिशामा धकेल्यो। यसरी ठूलो उद्देश्य बोकेका नेताहरू आफ्नै परिवार, आफ्नो समाज र विदेशी स्वार्थको दबाबमा परेर असफल भए।
६. इमान्दारीताको उपेक्षा
भीमसेन थापाको जमानादेखि नै इमान्दार मानिसको कदर भएन। ‘सतीले सरापेको देश’ भन्ने उक्ति त्यसको उदाहरण हो। इमान्दारिता मूल्यहीन हुँदा प्रगतिशील मार्ग अवरुद्ध रह्यो।
७. शब्द र व्यवहारको अन्तर
सभामा क्रान्तिकारी भाषण गर्ने तर आफ्नै जीवनमा त्यसलाई नउतार्ने चरित्र धेरै जनामा देखिन्छ। यस्तो दोहोरो चरित्र समाजदेखि पार्टीसम्म फैलिँदा देशको बाटो थुनिन्छ।
८. गलत व्यक्तिको पिछलग्गु
नेपाली समाज प्रायः स्वार्थका कारण गलत व्यक्तिको पिछलग्गु बनेको छ । गलत र असक्षम नेतृत्व जान्दाजान्दै पनि आफ्नो स्वार्थ पूर्ति गर्न त्यसको पछि लाग्ने र जयजयकार गर्ने प्रवृत्ति पाइन्छ । त्यसरी जीवनका सिद्धान्त र कर्तव्य स्वार्थबस् माटोमा मिलाउँदा देशको भविष्य अन्धकारमय बन्छ।
अनुभवको निष्कर्ष
४६ सालअघि देखि आजसम्मका आन्दोलनहरूमा सरिक भएर देश बदल्ने सपना बोकेर हिँडेको एक यात्रुका आँखाले देखेको सत्य यही हो—रगत बग्यो, बलिदान भयो, तर देशले अझै पनि सही मार्ग समात्न सकेन।
समाधानको बाटो
देश बदल्ने सपना कुनै चमत्कारबाट पूरा हुँदैन। यसको सुरुवात हरेक व्यक्तिबाट हुन्छ।
पहिलो, आफूलाई सच्याउनुपर्छ।
दोस्रो, परिवारलाई सही बाटोमा डोर्याउनुपर्छ।
तेस्रो, नातागोता र समाजलाई मार्गदर्शन गर्नुपर्छ।
चौथो, समाजका संघ–संस्थामा सकारात्मक परिवर्तन ल्याउनुपर्छ।
पाँचौं, गाउँ, जिल्ला, प्रदेश हुँदै राष्ट्र निर्माणमा योगदान दिनुपर्छ।

जबसम्म यो चेतना हरेक नेपालीमा पलाउँदैन, रगतको कथा पुनः दोहोरिन्छ। तर, यदि ढिलो भए पनि यो भाव जाग्यो भने—सपनाको नेपाल बन्नेछ, सुखी नेपाली जन्मिनेछन्।
अन्त्यमा,
सबै नेपालीमा सद्बुद्धि पलाओस्, आत्मबल जागोस्, अनि देशले वास्तविक अग्रगमनको छलाङ मार्न सकोस् भन्ने हार्दिक शुभकामना।
(लेखक दिनेश मैनाली शिक्षाकर्मी हुन् ।)


