दास बन्न बिदेश जानेहरु देशलाई दोष दिन्छन् : सांंसद थापा(भिडियोसहित)

भक्तपुर । प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न बिदेशीने गरेका बताएका छन् । देशमा केही भएन भन्नू भ्रम र आरोप मात्र भएको उनको भनाइ छ ।

“हामी उभिएको धरातलमा आज साहसिलो पाइला चालौं” बोलको राष्ट्रप्रेम र प्रेरणा भावयुक्त गीति-भिडियोको शुभमुहुर्त समारोहलाई चाँगुनारायणमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले भने, “शिक्षाको अवसर छैन भनेर बिदेशिनु बहाना मात्र बनेको छ, हामी नयाँ दासको रुपमा आफैं बाधिन गएका छौं ।”

पहिले डाक्टर पढ्न जनताको छोराछोरीलाई कोटा नहुने अवस्था अन्त्य भएको र देशमा २० वटा बढी मेडिकल कलेज संचालनमा रहेका उनले बताएका छन् । “इन्जिनियरिङ कलेजमा भर्ना नपाइने अवस्था अहिले छैन, बरु कलेजका कोटा पूर्ति भैरहेका छैनन् ।” उनले भने ।

स्वास्थ्य, भौतिक पूर्वाधार र सम्पदा संरक्षणमा पनि पहिले भन्दा अहिले उल्लेखनीय प्रगति भएको उनको दावी छ । “पन्चायत कालमा हाम्रै चाँगुनारायण जस्ता सम्पदाहरु भग्नावशेष मात्र थिए ।” उनले भने, “अस्पतालहरु नगन्य थिए र बाटाघाटा पनि थिएनन् तर, अहिले परिणाम हाम्रो सामुन्ने छ ।”

संंसारमा भ्रष्टाचार सबै देशमा हुने उनको जिकिर छ । लोभी र पापी हुन्जेल भ्रष्टाचार हुने तर, त्यसलाई नियन्त्रण गर्न सकिने सकारात्मक संदेश दिनुको साटो अतिरन्जित गर्दै सक्कियो बिग्रीयो भनेर युवा पुस्तालाई हतोत्साहित बनाउन खोजिएको उनको आरोप छ ।

देशलाई गाली गरेर देशभक्त देखिने ट्रेन्डलाई तोड्न उनले गीतसंगीत र साहित्यमार्फत सकारात्मक संदेश फैलाउनपर्ने आवश्यकता औल्याएका छन् ।

हेर्नुस् सांंसद थापाको भिडियो

https://www.facebook.com/share/v/1BZ6CXsKKt/

 

सो अवसरमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण मन्दिर विश्वसम्पदा सूचीमा सुचिकृत पुरानो मन्दिर भएपनि पर्याप्त चर्चा पाउन नसकेको गुनासो गरे । उनले आगामीदिनमा यसको प्रचारप्रसारमा विशेष ध्यान पुर्याइने प्रतिवद्धता प्रकट गर्नुका साथै स्थानीय र सरोकारवालासंगको सहकार्यमा नगरपालिकाले संरक्षणको योजनाहरु अघि बढाउने बताए ।

कार्यक्रममा स्थानीय समेत रहेका बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेल र चाँगुनारायण मन्दिरका मूल पुरोहित एवं ब्यवस्थापन समितिका अध्यक्ष चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायण मन्दिरको ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्वबारे प्रकाश पारे ।

कार्यक्रममा हामी उभिएको धरातलका गायक एवं संगीतकार सुनिल उप्रेती, गायिका निशा देसार, कलाकार रश्मि भट्ट, निर्देशक सुचित्रा श्रेष्ठ लगायतले राष्ट्रप्रेमको भाव बोकेको गीतलाई उपत्यकाको ऐतिहासिक स्थलहरुमा छायांकन गरी त्यस क्षेत्रको प्रचारप्रसार योगदान गर्ने लक्ष लिइएको जानकारी गराए ।

उनीहरूले भने,”हामी हरेश खाइरहेका थियौं, माननीय दुर्लभ थापाले हाम्रो हात थामिदिनुभयो र हामी गीत छायांकन गर्नसक्ने भयौं ।”

हामी उभिएको धरातलमा आज
हामी उभिएको धरातलमा आज