भक्तपुरका सबै पालिका पूर्ण खोप सुनिश्चित, जिल्ला घोषणा असारभित्रै

भक्तपुर । भक्तपुरका चारैवटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

बिहीबार भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेसंगै जिल्लाका सबै नगरपालिका पूर्ण खोप सुनिश्चित भएका जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जनाएकी छन् ।

भक्तपुरमा सूर्यविनायक नगरपालिकालाई सबैभन्दा पहिला गत जेठमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा थियो भने त्यसयता क्रमशः चाँगुनारायण र मध्यपुर थिमि पनि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भईसकेका छन् ।

पालिकाका सबै लक्षित उमेर समूहका बालबालिकाले सम्पूर्ण खोप लगाइसकेका छन् भन्ने प्रमाणित भएकोले जिल्लाका चारैवटा पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरी प्रमाणपत्र दिइएको जनस्वास्थ्य कार्यालयकी प्रमुख अन्जना खड्काको बताएकी छन् ।

यो घोषणा स्वास्थ्य मन्त्रालयको निर्देशन र निर्देशिका अनुसार परीक्षण र मूल्याङ्कन पछि गरिएको उनले जानकारी गराइन् ।

पालिकामा नगर प्रमुखको अध्यक्षतामा नगर खोप समन्वय समिति हुने र यसले वडालाई पूर्ण खोप सुनिश्चित भए नभएको मूल्यांकन गर्ने तथा जिल्लामा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय समितिले पालिकाको मूल्यांकन गरेर घोषणा गर्ने संयन्त्र रहेको उनले प्रष्ट पारिन् ।

जिल्लाका ३८ वटै वडा र चारैवटा नगरपालिकाका लक्षित बालबालिकाले पूर्णरुपमा लगाउनुपर्ने सबै खोप लगाइसकेकाले अब जिल्लालाई पनि यसै आर्थिक वर्षभित्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भईरहेको जिल्ला समन्वय अधिकारी राधाकृष्ण खतिवडाले बताएका छन् ।

जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले पूर्ण खोप सुनिश्चितता स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको उल्लेख गरेका छन् ।

स्वस्थ भक्तपुरको लागि यसको दीर्घकालीन महत्व रहेको उनको भनाइ छ ।