भक्तपुरमा १० युवामध्ये २ दुर्ब्यसनीको शिकार, एड्सको पनि उच्च जोखिम

भक्तपुर । भक्तपुर जिल्लामा कलेज जाने उमेरका १० युवामध्ये २ जना लागुपदार्थ दुर्व्यसनमा फसेका एक तथ्यांकले देखाएको छ । 

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) को सन् २०२४ को तथ्यांकले दिएको चेतावनी गम्भीर छ — कलेज उमेरका हरेक १० युवामध्ये २ जना लागूऔषध दुर्व्यसनी छन् ।

यिनमा गाँजादेखि सुईमार्फत लागुपदार्थ सेवन गर्ने सम्मको प्रवृत्ति देखिन्छ। अझ खतरनाक पक्ष — एउटै सुईको प्रयोगले एड्सको जोखिम पनि बढाएको छ ।

 संक्रमणको जोखिम झनै चुलिँदै

भक्तपुरमा हाल १३१२ देखि १५३७ जना लागू औषध सुई प्रयोगकर्ता रहेका छन्, जसमा अधिकांश पुरुष छन् तर महिलाहरूको संलग्नता पनि नकार्न मिल्दैन। सुईमार्फत लागुपदार्थ प्रयोग गर्नेहरूले एचआईभी संक्रमित हुने सम्भावना उच्च हुने जनाइएको छ।

 यौनकर्मी समूह पनि उच्च जोखिममा

केन्द्रका तथ्यांक अनुसार भक्तपुरमा:

४८१८–५४३४ महिला यौनकर्मी

४२६–५०० पुरुष यौनकर्मी

५७५–६६३ तेस्रो लिङ्गी, जसमध्ये २६१–३२५ यौनकर्मी रहेका छन्।

साथै ६३८–७०४ पुरुष यस्ता छन् जसले पुरुषसँग यौन सम्बन्ध राख्ने गरेका छन्। यी सबै समूहहरू एचआईभी संक्रमणको ‘होट स्पट’ बनेका छन्।

रिपोर्टेड संक्रमित संख्या कम, तर जोखिम उच्च

भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरमा हालसम्म १५३ जना संक्रमित मात्र रिपोर्टेड छन् — पुरुष १००, महिला ४५, तेस्रो लिङ्गी ४ र बालबालिका ४ जना छन् ।

तर, साँचो संख्या अझ बढी हुन सक्ने अनुमान छ किनभने धेरै संक्रमित काठमाडौं, ललितपुर, काभ्रे जान्छन् वा डरले खुलेर आउँदैनन्।

काउन्सिलर सृष्टि अर्याल भन्छिन्, “समाजमा भेदभाव र लाञ्छनाको डरले संक्रमितहरू लुकेर बस्न बाध्य छन्।”

 कार्यक्रमहरू कमजोर, समन्वयको खडेरी

संघीयताको आगमनसँगै स्थानीय तहमा स्वास्थ्यको जिम्मा पुगेको भए पनि एचआईभी तथा लागुपदार्थसम्बन्धी कार्यक्रमहरू कमजोर भएका छन्।

‘सुरुवात’ संस्थाले हालै आयोजना गरेको जिल्लास्तरीय बैठकमा यसबारे गम्भीर छलफल भएको थियो।

कार्यकारी निर्देशक राजेश दिदिया भन्छन्, “एकै सुई प्रयोग गर्ने प्रवृत्तिले युवामा एचआईभी फैलन थालेको छ। प्रहरीमात्र लागेर यो रोकिँदैन। कलेज र विद्यालय केन्द्रित चेतना कार्यक्रम अपरिहार्य छन्।”

अवस्था सुधारको पहल शुरु

भक्तपुरका चारै नगरपालिका, सरोकारवाला निकाय र गैरसरकारी संस्थाहरूबीच बजेट विनियोजन र सहकार्यको आवश्यकता बैठकमा जोडिएको छ।

साट्क्टस् संस्थाका प्रतिनिधि रोशन सुवाल भन्छन्, “हामीसँग मात्र २९८३ महिला यौनकर्मी र ५३३९ ग्राहकहरू सम्पर्कमा छन्। भक्तपुर ट्रान्जिट प्वाइन्ट भएकाले यथार्थ संख्या अझ बढी हुन सक्छ।”

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा भन्छन्, “विकास निर्माणमा मात्र होइन, स्वास्थ्यमा पनि समान प्राथमिकता दिनुपर्छ।”

सचेतनना र सुरक्षामा जोड

भक्तपुरको समग्र अवस्था संकेत गर्छ — यदि अहिले नै सचेतना, सहकार्य, कार्यक्रम र बजेट व्यवस्थापन भएन भने एचआईभी संक्रमण र लागुपदार्थ दुर्व्यसनको भयानक विस्फोट नजिकै छ।

अबको सवाल केवल आँकडाको होइन, समाज र भविष्यको संरक्षणको भएको भन्दै सहभागीले सचेतनना र सुरक्षामा जोड दिएका छन् ।