बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण सम्पन्न

ललितपुर । ललितपुरस्थित प्रादेशिक अस्पताल बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना अस्पतालका रूपमा विकास गर्न सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बिहीबार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा विस्तार, सुधार र जनविश्वास निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन्।

नागरिकहित केन्द्रमा राखेर सेवा सुधार गर्नुपर्ने सुझाव

बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले नागरिकको हित प्राथमिकतामा राखेर अस्पतालको सेवा प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरे। “महानगर वा नगरपालिकाले आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गर्न सक्छ, तर गाउँपालिकालाई स्रोत र साधनको अभावले कठिनाइ हुन्छ,” उनले भने, “यहाँ आएका कुनै पनि बिरामी सेवाबाट वञ्चित हुन नदिनु पर्छ। जनचेतना बढाएर रोग लाग्नुअघि नै रोकथाममा ध्यान दिनुपर्छ।”

स्थानीयको विश्वास कायम राख्न जोड

गोदावरी नगरपालिका वडा नं. १३ का अध्यक्ष भास्कर थापाले यो अस्पताल पहिले ‘ससिखेल हेल्थपोस्ट’ भनेर चिनिँदा आज प्रदेशस्तरीय अस्पतालको रूपमा स्थापित भएको स्मरण गर्दै, “अब यस अस्पतालले स्थानीयको विश्वास जित्ने व्यवहार र सेवा दिन जरुरी छ,” भने।

वडा नं. ११ का अध्यक्ष निलबहादुर देसारले सेवा लिनेको संख्यामा गिरावट आउनु चिन्ताको विषय भएको बताए। “अस्पतालप्रति जनविश्वास घट्नु नकारात्मक संकेत हो, प्रभावकारी सेवा प्रवाहले मात्र त्यो भरोसा फर्काउन सकिन्छ,” उनले स्पष्ट पारे।

सुझावलाई कार्ययोजनामा समेट्ने प्रतिबद्धता

अस्पताल सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले सामाजिक परीक्षणबाट आएका सुझावलाई सुधारका अवसरका रूपमा लिइएको बताए। “राजनीति होइन, सेवा हाम्रो प्राथमिकता हो,” उनले भने, “साउन महिनादेखि सुधारका कार्यहरू चरणबद्ध रूपमा सुरु हुन्छन्।”

चुनौतीका बीचमा सेवा विस्तारको प्रयास

मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले अस्पतालमा पछिल्लो एक वर्षमा धेरै सुधार भए पनि अझै केही चुनौती कायम रहेको बताए। “९८ प्रकारका औषधि निरन्तर उपलब्ध नभएको, एम्बुलेन्स बिग्रिएको, अस्पतालको नाम नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ,” उनले जानकारी दिए।

त्यसैगरी, टोकेन प्रणाली, सर्जरी सेवा, नाक-कान-घाँटी उपचारजस्ता क्षेत्रमा उल्लेखनीय सुधार आएको पनि बताए।

विशेषज्ञ सेवाको पहुँच बढे पनि बीमा प्रणालीमा समस्या

डा. अमरदीप शाहले अस्पतालमा भर्ना हुने बिरामीको संख्या विगतको तुलनामा उल्लेखनीय रूपमा बढेको बताए। “विशेषज्ञ सेवाको पहुँच बढेको छ, तर बीमा भुक्तानी समयमा नआउँदा समस्या देखिएको छ,” उनले उल्लेख गरे।

पत्रकारहरूको सुझाव : औषधि, सेवा र व्यवहारमा ध्यान

पत्रकार शिवहरि घिमिरेले औषधिको सहज उपलब्धता, निःशुल्क सेवाको प्रभावकारी कार्यान्वयन र सेवाग्राहीमैत्री व्यवहारको आवश्यकता औंल्याए।

सो सामाजिक परीक्षण कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले गरेका थिए।

कार्यक्रममा सेवाग्राही, जनप्रतिनिधि, चिकित्सक, नर्स, नागरिक समाजका प्रतिनिधिहरू र पत्रकारसहित करिब एक सयजनाको उपस्थिति रहेको महासंघका सचिव दीपक अर्यालले जानकारी दिए ।