भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका अब ‘पूर्ण खोप सुनिश्चित’ नगरको रूपमा घोषणा गरिएको छ। जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप लगाइसकेपछि सोमबार एक कार्यक्रमबीच यो घोषणा गरिएको हो।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले संयुक्त रूपमा नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरे। कार्यक्रममा दिगोपनाका लागि ठोस नीति तथा कार्यक्रम निर्माण गरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
नगर प्रमुख श्रेष्ठले खोपले बालबालिकाको जीवन रक्षा गर्ने भएकाले अब नगरका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिने स्पष्ट पार्दै स्वास्थ्य शाखालाई आवश्यक नीति निर्माण गर्न निर्देशन दिए। उनले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, विशेषतः महिला स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गर्दै आगामी वर्षदेखि उनीहरूलाई सम्मान गरिने बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले उत्साहपूर्वक गरिएको कामले सफलता मिलेको बताए। उनले यो अभियानलाई निरन्तरता दिइने बताए। स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले नगरका ९ वटै वडाका सबै बालबालिकाले आवश्यक खोप लगाएको पुष्टि गरे।
जनस्वास्थ्य निरीक्षक ऋषिराज दाहालका अनुसार, नगरमा १५ महिनासम्मका १,३५५ र १६ देखि ५९ महिनासम्मका २,९१५ बालबालिका सूचीकृत थिए। तीमध्ये केही छुट भएका बालबालिकालाई खोप दिइसकेपछि मात्र घोषणा गरिएको हो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सागर शाक्यले चिकित्सकको सिफारिसअनुसार खोप नलगाउनुपर्ने बालबालिकालाई पनि पूर्ण खोप प्राप्त मानेर गणना गरिने जानकारी दिए।
घोषणा कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, महिला स्वयंसेविका र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।