स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेविल्लामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलन (FfD4) को पूर्ण बैठकमा एलडिसी (अत्यन्त न्यून विकसित मुलुकहरू) समूहको अध्यक्ष तथा नेपालको तर्फबाट सम्बोधन गर्दै एलडिसीहरूको आर्थिक विकासका लागि न्यायपूर्ण र समावेशी विश्व आर्थिक प्रणालीको माग गरेका छन्।
प्रधानमन्त्री ओलीले गत दशकमा एलडिसीहरूको ऋण तीन गुणाले बढेको, सहायतामा कमी आएको र प्रविधिको पहुँचमा गम्भीर खाडल रहेको उल्लेख गर्दै अहिलेको सेभिया प्रतिबद्धतालाई नयाँ सम्भावनाको ढोका खोल्ने अवसरको रूपमा व्याख्या गरे। उनले विकासशील राष्ट्रहरूका लागि ०.७ प्रतिशत र एलडिसीहरूका लागि ०.२ प्रतिशत आधिकारिक विकास सहायता (ODA) सुनिश्चित गर्न आग्रह गरे।
“सेभिया प्रतिबद्धता एलडिसीहरूको दीगो, न्यायपूर्ण र अपरिवर्तनीय स्नातक यात्राको उत्प्रेरक हुनुपर्छ,” प्रधानमन्त्री ओलीले भने। उनले जलवायु वित्त, कर प्रणाली सुधार, व्यापारमा न्याय, र निजी क्षेत्रको भूमिकालाई समेत विशेष जोड दिए।
नेपाल २०२६ मा एलडिसी सूचीबाट स्नातक हुन गइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले नेपालका विकास लक्ष्यहरू पुरा गर्न दातृ निकायको सहयोग अपरिहार्य भएको बताए। उनले सेभिया प्रतिबद्धताको सह-संयोजकको हैसियतमा नेपालले खेलेको भूमिकालाई पनि स्मरण गर्दै सबै सदस्य राष्ट्रप्रति आभार प्रकट गरे।
प्रधानमन्त्री ओलीले सम्बोधनको अन्त्यमा निष्पक्ष विश्व शासन प्रणाली, सहकार्यमा आधारित साझेदारी, र दीगो विकासप्रति प्रतिवद्धता जनाउँदै सेभिया प्रतिबद्धतालाई कार्यान्वयन गर्न सबैलाई आह्वान गरे।