काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताक्रमको आधारमा क्षमतावान व्यक्ति नियुक्त गरिने स्पष्ट पारेका छन्।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत निकटता होइन, मेरिटोक्रेसीलाई प्राथमिकता दिने बताएका हुन्।
उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारमा म मात्र होइन, त्यसैले सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु।”
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा समेत सिफारिस समितिको प्रस्तावअनुसार क्षमता भएका व्यक्तिहरूको नियुक्ति भएको जानकारी दिए।
उनले तीमध्ये एक आयोगका अध्यक्षसँग मुख्यसचिव हुँदा चिनजान भएको भए पनि अन्य पदाधिकारीहरूसँग व्यक्तिगत सम्बन्ध नरहेको प्रस्ट पारे।
उनले पूर्व योजनाकारहरूको संस्थाबाट नीति, योजना र अनुभवको आदानप्रदान होस् भन्ने शुभेच्छा व्यक्त गर्दै व्यक्तिगत टकरावभन्दा संस्थाको दिगोपनामा जोड दिए।