एकथान टेलीफोन लिन मन्त्रीको सिफारिस लिनुपर्ने दिन गए : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक थान टेलिफोन लाइन लिन मन्त्रीको सिफारिस चाहिने दिन गएका बताएका छन् । ब्यवस्था बदलियो अवस्था बदलिएन भन्ने हरुले यो कुरा राम्ररी बुझ्नु पर्ने उनले बताए ।

बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशमा सडक, बिजुलीजस्ता पूर्वाधार विस्तार भइसकेकाले सूचना प्रविधिमा लगानी गर्न अब ढिलो गर्नु हुँदैन।”

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा लगानी बढाउन विदेशी लगानीकर्तालाई उन्ले खुलेर आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले हरेक दिन एक पाइला अगाडि भन्ने आत्मविश्वासका साथ मुलुकलाई प्रविधिमय बनाउन जोड दिए। उनले भने, “हामी आफैंले केही गर्न सक्छौं भन्ने आत्मविश्वास राखौँ, हाम्रो यात्रा अब अग्रगमनतर्फ नै हुनेछ।”

ओलीले शिक्षा क्षेत्रमा प्रविधिको महत्व विशेष रूपमा उल्लेख गरे। उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने अवस्था अन्त्य गर्न अनलाइन कक्षा सञ्चालन गरिएको उदाहरण प्रस्तुत गरे र यस्ता पहलहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए।

प्रधानमन्त्रीले अब आफ्नै सुरक्षासहितको डेटा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, “व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्नेहरूलाई सूचना प्रविधिको विकास आफैँमा जवाफ हो।” ओलीले अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठाउने तयारी भइसकेको र नयाँ पुस्ताका सयभन्दा बढी दक्ष युवाहरू तयार भइसकेको बताए।

उनको भनाइमा, “हामी आत्मविश्वासका साथ अघि बढ्नु पर्छ, सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र तालिममा अझै ध्यान दिनुपर्छ, र विकास तथा सुशासनका लागि देशको कुना–कुनामा प्रविधिको पहुँच विस्तार गर्नुपर्छ।”

कार्यक्रममा ओलीले बागमती प्रदेशको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लु बुक) लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे। राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्रा.डा. शशीधर राम जोशीसहित विभिन्न व्यक्तित्व र संस्थाहरू पुरस्कृत भएका थिए।