सबै सांसदलाई सन्तुष्ट पार्न सकिदैन, बजेट सन्तुलित छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सकेसम्म सन्तुलित रूपमा ल्याइएको दाबी गर्दै माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सरकारले थप प्रयास गर्ने बताएका छन्।

प्रतिनिधिसभामा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूसम्बन्धी विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सबै सांसदलाई सन्तुष्ट पार्न सकिने अवस्था नरहेको स्वीकार गरे।

“हामीलाई धेरै ठाउँमा छिटो विकास चाहिएको छ, तर बजेट सीमित छ,” ओलीले भने, “यसले गर्दा सबैको चाहना पूरा हुन नसकेको हो। तर माग र आपूर्तिको सन्तुलन कायम गर्न ध्यान दिइनेछ।”

उनले आवश्यक विकासका लागि निजी क्षेत्र र वैदेशिक लगानी अपरिहार्य भएकाले लगानी बोर्डमार्फत प्रभावकारी काम हुने पनि बताए।

संविधान संशोधनमार्फत विद्यमान व्यवस्थालाई थप प्रभावकारी बनाउने तयारी भइरहेको उल्लेख गर्दै ओलीले संसदमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने टिप्पणी नगर्न आग्रह गरे। “संविधान र प्रणालीको अपमान सह्य हुँदैन,” उनले भने, “ममाथि गाली र अपमान भए पनि सहन्छु, तर जनताको बलिदानको अपमान सहिन्न।”

प्रधानमन्त्री ओलीका अनुसार तीन करोडभन्दा कम लागतका आयोजना अब योजना बैँकमार्फत मात्र अघि बढाइने छन्। आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने उनले स्पष्ट पारे।

उनले विकास निर्माण र सुशासनका लागि सबै सरकारी निकायलाई सक्रिय बनाइने जनाउँदै सरकार कसैको विरुद्ध कुनै ‘खेल’ खेलिरहेको भन्ने प्रचारप्रति आपत्ति जनाए। “सरकारलाई त्यस्तो खेल खेल्ने फुर्सद छैन,” उनले भने।