काठमाडौं । सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा अध्यागमन र भिजिट भिसा प्रकरण छानबिन समिति गठन गरेपनि नेतृत्वको विषयमा बिपक्षी दुई दल सहमत हुन सकेनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले समितिलाई अस्वीकार गर्दै पुनः आजपनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सरकारले सोमबार राति समितिको घोषणा गरेको थियो, तर त्यसको भोलिपल्टै रास्वपाले तीव्र आपत्ति जनाउँदै समिति ‘पूर्णरूपमा अमान्य’ भएको घोषणा गरेको हो। गृहमन्त्रीसमेत जोडिएको विषयमा पूर्व मुख्य सचिव नेतृत्वको समितिले छानबिन समिति छानबिनका लागि नभई सुनपानी झर्केर चोक्याउनलाई बनाइएको उनीहरूको आरोप छ ।
“जसको छानबिन हुनुपर्ने हो, उसैलाई संयोजक बनाइनु आपत्तिजनक“
रास्वपाका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले भने, “जो व्यक्तिमाथि स्वयं छानबिन आवश्यक छ, त्यही व्यक्ति संयोजक बनाइएको छ। हामीले यसलाई अस्वीकार गर्नु स्वाभाविक हो।”
उनका अनुसार प्रतिपक्षका आवाज सरकारले लगातार उपेक्षा गरिरहेकाले रास्वपाले पनि सत्ता पक्षको भनाइ नसुन्ने निर्णयसहित संसद बैठक बहिष्कार गरेको हो।
गृहमन्त्रीको जानकारी, रास्वपा-राप्रपाको कडा असहमति
संसद बैठक सुरु भएपछि गृहमन्त्री रमेश लेखकले छानबिन समितिको गठनबारे जानकारी गराए। त्यसपछि बोल्ने क्रममा रास्वपाका डा. वाग्ले र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले समितिको संरचना र नेतृत्वप्रति असहमति जनाउँदै संसद बैठक छाडेका हुन्।
राजनीतिक स्तरमै विवाद चुलियो
सरकारले भिजिट भिसा र अध्यागमनमा देखिएको अव्यवस्थाको छानबिन गर्न भन्दै समिति गठन गरे पनि समितिको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको छ। प्रतिपक्षी दलहरूको अविश्वासले राजनीतिक वृत्तमा विवाद थप चुलिएको छ।
अब सरकार समितिको पुनरावलोकनतर्फ जान्छ या प्रतिपक्षसँग टकराव बढ्छ भन्ने विषयले आगामी संसद बैठकको गति तय गर्नेछ।