नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका ३ सय ४१ जना शिक्षकलाई लक्षित गर्दै वृहत शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन निरन्तर तालिम आवश्यक हुने मान्यतासहित एन प्याब्सनले विभिन्न तह र विषयका शिक्षकहरूलाई प्रशिक्षित गर्ने क्रममा कार्यक्रम सम्पन्न गरिएको हो।
जेठ २४ गते गणित विषयका शिक्षकलाई डा. रमेश प्रसाद अवस्थीले प्रशिक्षण दिए भने सामाजिक विषयका लागि जीवनराज पन्थी र प्रभाति किरणले सहजीकरण गरे।
जेठ ३१ गते लेखापालहरूलाई लेखा प्रणाली र करसम्बन्धी अभिमुखीकरण सी.ए. सुनिल श्रेष्ठले गराए।
त्यसैगरी असार ७ गते पूर्वप्राथमिक तहका शिक्षकलाई डा. मिनाक्षी दाहालले सहजीकरण गरिन्।
सोही दिन नेपाली विषयमा डा. ध्रुवकुमार घिमिरे र विज्ञान विषयमा डा. चिन्तामणि पन्थीले प्रशिक्षण दिएका थिए।
तालिम उपसमिति संयोजक रमेश प्रसाद सिटौलाका अनुसार, प्याब्सनले विगतमा पनि यस्ता तालिमहरू आयोजना गर्दै आएको र आगामी दिनमा थप प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने सिटौलाले बताए।
अध्यक्ष संजय खड्काले चार विषय—नेपाली, गणित, विज्ञान र सामाजिक—सहित पूर्वप्राथमिक तहका शिक्षक र लेखापाललाई समेत समेटेर तालिम गरिनुले सदस्य विद्यालयको शैक्षिक एवं सस्थागत गुणस्तर वृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सफलतामा सहयोग पुर्याउने पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका जिल्ला उपाध्यक्ष एवं सत्यशक्ति पुस्तक भण्डारका महेश थापा, यूरेका पब्लिकेशनका बी.एन. पण्डित, ग्रीन बुक्सका विजयकृष्ण महर्जन र ओएसिस पब्लिकेशनका हरिशचन्द्र विष्टप्रति कार्यक्रममा कोषाध्यक्ष विक्रम थापाले आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
एन प्याब्सन भक्तपुरले यस्ता तालिमलाई निरन्तरता दिदै शैक्षिक एवं सस्थागत विकासमा लम्किरहने प्रतिवद्धता प्रकट गरेको छ ।
शिक्षकको दक्षता वृद्धि, सिकाइ उपलब्धिमा सुधार, पाठ्यक्रम अनुसारको शिक्षणसिकाइ, गुणस्तरमा अभिवृद्धि,. पेशागत विकास र सञ्जाल निर्माण र अनुभव आदान–प्रदानमा कार्यक्रम महत्वपूर्ण रहेको अध्यक्ष संजय खड्काले दावी गरेका छन् ।