पत्रकारको सुरक्षा र सूचनाको विश्वसनीयता अपरिहार्य : गृहमन्त्री लेखक

ramesh lekhak
ramesh lekhak

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्-संवेदनशील पत्रकारिता गर्दा अग्रपंक्तिमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूले सम्प्रेषण गर्ने सूचनाको विश्वसनीयता सुनिश्चित गर्न अत्यावश्यक रहेको बताएका छन्।

विपद् पत्रकारिता सञ्जालद्वारा मंगलबार काठमाडौंमा आयोजित “विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मिडियाको भूमिका” विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखकले नेपाली भूगोल उच्च जोखिमयुक्त भएकाले कुनै पनि बेला विपद् आइपर्न सक्ने र यस्ता अवस्थामा विश्वसनीय सूचनाको वितरण निर्णायक हुने बताए।

“राज्यले पूर्वतयारी र पूर्वानुमान गर्ने काम गर्छ, तर त्यो सूचना नागरिकसम्म पुर्‍याउने जिम्मा मिडियाको हो। यही सूचनाको प्रभावकारिताले मात्र जनताले राज्य सक्रिय छ भन्ने अनुभूति गर्न सक्छन्,” मन्त्री लेखकले भने।

उनका अनुसार सातै प्रदेशमा आपतकालीन मानवीय सहायता सामग्रीसहितका गोदाम निर्माण भइसकेका छन् तर ती केन्द्रिय महाशाखाको लिखित आदेशबाट मात्र सञ्चालनमा आउँछन्। तत्काल उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाका हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको जानकारी पनि मन्त्रीले दिए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख इन्जिनियर दिनेश भट्टले सूचनामूलक पत्रकारिताबाट एक जनाको पनि ज्यान जोगिनु ठूलो उपलब्धि हुने बताए। उनका अनुसार एनडिआरआरएमएले ल्याएको प्रतिकार्य योजना अनुसार प्रमुख जिल्ला अधिकारीहरूलाई सूचना मात्र होइन, कार्यान्वयनमै उत्रिन निर्देशन दिइएको छ।

उनले जनसमुदायलाई सकृय र सचेत बनाउनु नै विपद् न्यूनीकरणमा प्रभावकारी उपाय भएको उल्लेख गरे। सडक सुरक्षाका लागि र्‍याफ्टिङ एसोसिएसन संघ, यातायात महासंघ लगायतसँग समन्वय गरी उपायहरू अघि बढाइएको बताए।

प्रशिक्षणमा पत्रकारहरूलाई विपद्को बेला अपनाउनुपर्ने सुरक्षाका उपाय र फिल्ड रिपोर्टिङको तयारीबारे प्राध्यापक रघु मैनाली र रासस अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गरेका थिए। सञ्जालकी सचिव देवी सापकोटाका अनुसार यो प्रशिक्षण विपद् अवस्थाका पत्रकारहरूका लागि अत्यन्त उपयोगी भएको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा उपत्यकाका दुई दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको जानकारी सञ्जालका महासचिव श्रीजन झाले दिए।

विपद् व्यवस्थापन तथा न्यूनीकरणको एजेन्डालाई क्रस-भेरिफिकेसन गरेर नागरिकलाई विश्वसनीय रूपमा सूचना प्रेषित गर्न प्रेरित गर्नु कार्यक्रमको प्रमुख उदेश्य रहेको आयोजकको भनाइ छ ।