दुर्गा प्रसाईंलाई रिहा गर्न ओलीको माग

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले ‘बोलेकै भरमा प्रसाईंलाई थुनिएको’ भन्दै आपत्ति व्यक्त गरेका हुन् ।

ओलीले मानव अधिकार आयोगले समेत प्रसाईंको गिरफ्तारीलाई मानव अधिकार उल्लंघन भनेको भन्दै सरकारको आलोचना जारी राखे।
“बोल्न पनि नपाइने हो भने कस्तो लोकतन्त्र ? सरकारलाई भनिरहन चाहन्छु— दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर,” उनले चेतावनीस्वरूप भने।

उनका अनुसार प्रसाईंले सार्वजनिक गरेको एउटा भिडियो सरकारलाई मन नपरेपछि रातारात पक्राउ गरिएको छ। ओलीले प्रश्न गरे,
“के सरकारले त्यस भिडियोका आरोपको स्पष्ट जवाफ दिन सक्छ ?”

ओलीलाई हजुर बुवा भन्ने मेडिकल ब्यवसायी दुर्गा प्रसाईं एमालेका पूर्व केन्द्रीय सदस्य हुन् । चुनावमा एमालेले टिकट नदिएपछि ओलीबाट टाढिएका प्रसाईं राजावादी आन्दोलनको नेता बने ।

ओली प्रधानमन्त्री हुँदा गत चैतमा प्रसाईं नेतृत्वको आन्दोलनले विध्वंस मच्चाएपछि उनी पक्राउ परेका थिए । अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।

पछिल्लो समय एमाले अध्यक्ष ओली र अभियन्ता प्रसाईं अन्तरिम सरकार प्रति आक्रामक ढंगले प्रस्तुत भैरहेका छन् । सुशीला कार्की नेतृत्वको सरकार बिरुद्ध भने उनीहरू एकै बिन्दुमा देखिन्छन् ।

प्रसाईंको अभिव्यक्तिलाई लिएर अनुसन्धानका लागि प्रहरीले मध्यरातमा उनलाई भक्तपुरको निकोसेरास्थित निजी निवासबाट नियन्त्रणमा लिएर राखेको छ ।