प्रधानमन्त्रीले दुर्गा प्रसाईंलाई दिइन् बुद्ध चित्र उपहार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान बालुवाटारमा मेडिकल ब्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भेटवार्ता गरेकी छन् ।

भेटमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै भगवान् गौतम बुद्धको चित्र उपहार दिइन्।

अब मुलुकले थप अस्थिरता थेग्न नसक्ने उल्लेख गर्दै आफ्ना मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न प्रधानमन्त्रीले आग्रह गरेकी उनको सचिवालयले जनाएको छ ।

मुलुक निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेको भन्दै उनले जनताबाट मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकास भएको स्पष्ट पारिन्। 

मुलुकमा शान्ति, अमनचैन र दिगो लोकतन्त्र स्थापनाका लागि निर्वाचन नै एक मात्र प्रभावकारी माध्यम भएको बताउँदै सबै पक्षलाई सहयोग गर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्रीले सरकार भ्रष्टाचार अन्त्य र शोषित–पीडितलाई न्याय दिलाउने दिशामा अघि बढिरहेको बताउँदै जायज मागबारे थप संवाद जारी रहने विश्वास व्यक्त गरिन्।