भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्यु भएको छ। वीरगन्ज, पर्साकी बासिन्दा र कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा साह बिहीबार साँझ आफ्नो छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
भुवनेश्वर-कटक प्रहरी आयुक्त एसडि सिंहको हवाला दिदै भारतीय सञ्चार माध्यमले मृत्यु भएको पुुुष्टि गरेका छन् । प्रारम्भिक अनुसन्धानमा यो आत्महत्याको घटना भएको आशंका गरिएको छ।
यो घटना यस वर्ष केआईआईटीमा नेपाली विद्यार्थीको दोस्रो मृत्युको घटना हो। यसअघि, फागुनमा रुपन्देहीकी विद्यार्थी प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन्। उनको मृत्युपछि विश्वविद्यालयमा व्यापक विरोध प्रदर्शनहरू भएका थिए, जसले नेपाली विद्यार्थीहरूको सुरक्षासम्बन्धी चिन्ता बढाएको थियो।
हाल, स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। अघिल्लो पटकको गल्ती नदोहोर्याउन प्रहरीले भारतस्थित नेपाली दूतावासको सम्पर्कमा रही परिवारको उपस्थिति पोस्ट मार्टम लगायत अनुसन्धान अघि बढाउने जनाइएको छ ।
विश्वविद्यालयले भने अहिलेसम्म आधिकारिक विज्ञप्ति जारी गरेको छैन।