आफूबिनाको एमाले कल्पना नगर्न अध्यक्ष ओलीको चेतावनी, अझै २५ वर्ष बुढो नहुने उद्घोष

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा नहुने चेतावनी दिएका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले सो चेतावनी दिएका हुन् ।

आफ्नो उमेर र स्वास्थ्य अवस्थालाई लिएर कसैले चिन्ता गर्नु नपर्ने कटाक्ष गर्दै उनले आफू अझै २०-२५ वर्ष बुढो नहुने उद्घोष समेत गरे । 

“ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ तर त्यो स्थिति छैन।” उनले भने ।

पूर्व रास्ट्रपतिसमेत रहेकी विद्या भण्डारीले आगामी महाधिवेशनबाट एमाले नेतृत्वको लागि दावी गरिरहेकी समाचारहरु बाहिर आइरहदा अध्यक्ष ओलीको चेतावनीलाई अर्थपूर्ण मानिएको छ ।

अध्यक्ष ओलीले एमाले अस्तित्वको निम्तिको लडाइमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने दावी पनि गरे ।

“हामी विकास र सुशासनको बाटोमा अगाढि बढेका छौँ । बिग्रिएको स्थिपितलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौँ । हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहान्छौँ । त्यसअनुरुप नयाँ बजेट, नीति कार्यक्रम ल्याउँदैछौँ ।’’, अध्यक्ष ओलीले भने ।

जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेहरुलाई तह लगाउमे पनि उनले बताए ।

एक्काइशौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा नचाहिएको उनले स्पपष्ट पारे ।

नयाँ शक्ति भन्नेहरुको तमासा पनि देखिइसकिएको उनको दावी छ । 

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा नेपालको कुनै पनि मुलुकसँग शत्रुुता नरहेको र सबैसँग मित्रता रहेको पनि जानकारी गराएका छन् ।