भक्तपुर । बिहीबारबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर सरेको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बेलुकी सानोठिमीमा बसेको बैठकले परीक्षा बैशाख २१ गतेदेखि शुरु गर्नेगरी सार्ने निर्णय गरेको हो ।
मंगलबार बिहान परीक्षा नसार्ने भन्दै गरेको निर्णयबाट पछि हट्दै परीक्षालाई बैशाख २१ गतेबाट शुरु गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पुष्टि गरेका हुन् ।
विद्यालय शिक्षा ऐन लगायतको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि भईरहेको अनिश्चितकालीन राजधानी केन्द्रीत शिक्षक कर्मचारी आन्दोलनलाई अवमूल्यन गर्दा राष्ट्रिय परीक्षा बोर्ड पेन्डुलम बनेको छ ।
पूर्व शिक्षा सचिव समेत रहेका डा महाश्रम शर्मा नेतृत्वमा रहेको परीक्षा बोर्डले १२ घण्टा समेत टिक्न नसक्ने निर्णय गरेपछि बोर्डको हैसियतमै प्रश्न चिह्न खडा भएको देखिन्छ ।
स्वास्थ्य प्रतिकूल रहेको भन्दै सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजिनामा दिएपनि त्यसको मुख्य कारण शिक्षक आन्दोलन नै रहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । त्यति हुँदाहुँदै पनि राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बोर्ड बैठकले स्थितिको सहि बिश्लेषण गर्न सकेन ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले परीक्षामा असहयोग गर्ने स्पष्ट पारिसक्दा पनि उनीहरुलाई बिच्काउन बोर्ड तल्लीन रह्यो ।
निजामती कर्मचारी लगाएर भए पनि परीक्षा गर्ने बोर्डको तयारी अदुरदर्शी थियो । अन्ततः एकदिन पनि टिक्न सकेन । अदुरदर्शिताकै कारण बिहान गरेको निर्णय बेलुका उल्ट्याउन बोर्ड बाध्य बनेको छ ।
“नटिक्ने निर्णय गर्ने मनस्थितिमा हामी थिएनौं ।” बोर्डका एक पदाधिकारीले ननस्टपखबर संग भने, “सरकारको दबाबका कारण त्यस्तो निर्णय गर्यौ तर, अहिले पेन्डुलम भयौं ।”
केन्द्र र केन्द्राध्यक्ष तोकिएको अवस्था, प्रश्न पत्र नै ई-मेलमा पठाउने र परीक्षा केन्द्रमा प्रीन्ट गरी बाँडिने ब्यवस्था र परीक्षा पछिका कापी जाँच लगायतका कारण पनि कर्मचारीले परीक्षा संचालन गर्न नसक्ने परीक्षा नियन्त्रण कार्यालयले बोर्डलाई जानकारी गराएको थियो । बोर्डका प्रायः पदाधिकारी पनि परीक्षा सार्ने मनस्थितिमा थिए ।
बोर्ड सदस्य रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले भने शिक्षकसंग झुक्न नहुने तर्क गरे । बोर्ड श्रोतका अनुसार उनी त्यतिमै रोकिएनन उनले परीक्षा गरेर शिक्षक आन्दोलनलाई चुनौती दिनुपर्ने दबाब नै दिए ।
सरकारको प्रतिनिधित्व गर्दै बैठकमा उपस्थित शिक्षा सचिवले परीक्षा सार्नु नहुने अडान राखिरहेपछि बोर्डले परीक्षा तोकिएकै मितिमा संचालन गर्ने निर्णय गर्नुपरेको श्रोतको दावी छ ।
यता, बिहान नसार्ने निर्णयबाट पछि हट्दै परीक्षा बैशाख २१ गतेबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा शर्माले भने प्रधानमन्त्री केपी शर्मा ओलीसंग सल्लाह गरेर परीक्षा सारेको बताएका छन् ।
बिहान शिक्षा सचिव काफ्लेले प्रधानमन्त्री संग सल्लाह गरेर परीक्षा नसार्ने निर्णयमा लग्न दबाब दिएका श्रोतको दावी छ । बैठकमा उनले सरकार शिक्षकसंग नझुक्ने भनेकाले पनि उनले प्रधानमन्त्रीको निर्देशनमा निर्णय गराउन दबाब दिएको हुनसक्ने श्रोतले दावी गरेको हो । यसबाट प्रधानमन्त्रीकै निर्देशन पनि अस्थिर देखिन्छ ।
यद्यपि, पूर्व शिक्षकसमेत रहेका शिक्षा सचिव काफ्ले शिक्षक आन्दोलनप्रति सन्तुष्ट छैनन् । शिक्षक महासंघले शिक्षा मन्त्रालयसंग बार्तामै बस्न नमानेको झोकमा प्रधानमन्त्रीसंगको सल्लाह बेगर नै परीक्षा संचालनका लागि सचिव काफ्लेले दबाब दिएको हुनसक्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली वार्ता र संवादबाटै शिक्षकहरुलाई कार्यस्थल फर्काउन प्रतिवद्ध रहेका उनले जानकारी गराए ।
यसको अन्तर्य जे भएपनि, १२ घण्टा भित्रै कहिले परीक्षा हुन्छ भनाएर त कहिले परीक्षा हुँदैन भन्ने बनाएर परीक्षा बोर्डलाई भने बेकामे संस्था बनाएको भन्दै बोर्डकै कर्मचारीहरु नै असन्तुष्ट बनेका छन् ।