टेरामक्समा परे पूर्वमन्त्री बस्नेत, सांसद पद निलम्बित

काठमाडौं, १ जेठ ।प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा परेका छन । भ्रष्टाचार मुद्दा  दायर भएसंगै उनको सांसद पद निलम्बित भएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार रही सिन्धुपाल्चोक-२ बाट निर्वाचित बस्नेतबिरूद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बिहीबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरिएको छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ ।

बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढी बिगोको भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

टेरामक्स (Telecommunication Traffic Monitoring and Fraud Control System) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सूचना तथा सञ्चार मन्त्रीको हैसियतमा मोहनबहादुर बस्नेतले भ्रष्टाचार गरेको आरोप लगाउदै उनीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ताले पुष्टि गरेका छन् ।

टेरामक्स प्रणाली विदेशी कल ट्राफिक अनुगमन, फ्रड नियन्त्रण, र सेवा गुणस्तर मापन गर्न प्रयोग हुने प्रविधि हो। तत्कालीन सञ्चारमन्त्री बस्नेतले यस प्रणालीको खरिद प्रक्रिया अघि बढाएका थिए।

सर्वोच्च अदालतले कानुनी आधारबिना फोन कल र एसएमएस निगरानी गर्न नपाउने आदेश दिएको भए पनि, उक्त आदेशको उल्लंघन गर्दै खरिद प्रक्रिया अघि बढाइएको थियो ।