चितवन, १ जेठ। भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङको रामबेल सामुदायिक वन क्षेत्रमा राईनो पार्क तथा चिडियाखाना निर्माण कार्यको शिलान्यास गरिएको छ।
महानगरपालिकाको विशेष परियोजनाअन्तर्गत ८ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको सो संरचनाको बिहीबार महानगर प्रमुख रेनु दाहालले औपचारिक रूपमा शिलान्यास गरेकी छन् ।
महानगरले चिडियाखानाभित्र संरक्षित बन्यजन्तुको अवलोकन, जानकारीमूलक केन्द्र, रमणीय बगैँचा तथा बालमैत्री पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ।
राईनो पार्क तथा चिडियाखानाको निर्माणले वन्यजन्तु संरक्षण, वातावरणीय शिक्षा, पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगार सिर्जनामा टेवा पुर्याउने अपेक्षा लिइएको महानगरकी मेयर दाहालले बताइन् ।
परियोजनाले भरतपुरलाई पर्यटकीय सहरका रूपमा बिकाश गर्न थप मद्दत गर्ने उनले विश्वास व्यक्त गरिन ।
रामबेल सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिले वनको संरक्षणसँगै आर्थिक तथा सामाजिक विकासलाई जोड्ने खालको योजना भएकाले आफूहरू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिए ।
सो अवसरमा उप–प्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समिति, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।