भक्तपुर, १ जेठ । पितृको मुक्तिका लागि १३ दिनसम्म किरिया गर्न प्रयोग हुने अधुरो किरियापुत्री भवन निर्माणका लागि भक्तपुरको गठ्ठाघरमा जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ सञ्चालन हुने भएको छ।
महायज्ञको आयोजनाबारे गठ्ठाघरमा आयोजित पत्रकार सम्मेलनमा सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले भवन निर्माण सम्पन्न गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए। उनका अनुसार महायज्ञबाट संकलित दान रकम भवन निर्माण, अक्षयकोष स्थापनाका साथै पुस्तकालय निर्माणमा खर्च गरिनेछ।
महायज्ञमा मञ्जरी राधिका दाशीले भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ। महायज्ञ जेठ ४ गतेदेखि १० गतेसम्म सञ्चालन हुने बताइएको छ।
अध्यक्ष सुवेदीले किरियापुत्री भवन निर्माणजस्तो सामाजिक कार्य सम्पन्न गर्न “अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने” भन्ने उद्देश्यसहित महायज्ञ आयोजना गरिएको बताए।
महायज्ञ सफल बनाउन १७ वटा उपसमिति गठन गरिएको छ ।
२०७० सालतिरको श्रीमद्भागवत पुराण महायज्ञबाट संकलित रकमबाट भवन निर्माण सुरु गरिएको थियो। विभिन्न समाजसेवीहरूको सहयोग संकलन गरे पनि भवन अधुरो रहेकाले पुनः महायज्ञ आयोजना गरिएको हो।
महायज्ञबाट दुई करोड रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकमबाट बहुउद्देश्यीय भवन निर्माण गरिने र आर्थिक अभावमा अधुरो काम सम्पन्न गरिने लक्ष्य छ।
पाँच आना दुई पैसा क्षेत्रफलको जग्गामा तीन तले भवन निर्माण भइसकेको छ। हालसम्म भवन निर्माण, शौचालय, ढिकुरो आदि निर्माणमा १ करोड ६३ लाख रुपैयाँ खर्च भइसकेको छ।
भवन निर्माणका लागि हाल १६ लाख रुपैयाँ ऋण रहेको र सो ऋण तिर्न तथा नयाँ संरचना बनाउन महायज्ञ आवश्यक भएको पत्रकार सम्मेलनमा प्रष्ट पारिएको छ।
दान गर्ने व्यक्तिको योगदानको आधारमा सम्मानको व्यवस्था मिलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। धर्मलाई सेवासंग जोड्दै महायज्ञ आयोजना गरिएको आयोजकको भनाइ छ ।