दिर्घबहादुर शाही, डोल्पा । बागमती प्रदेशको सुगम चितवनको भरतपुर महानगरपालिका र कर्णाली प्रदेश अन्तर्गतको विकट हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना गरिएको छ।
बुधबार भरतपुर महानगरमा आयोजित एक विशेष समारोहका बीच दुई स्थानीय तहबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले हस्ताक्षर गर्दै आपसी सहयोग आदान–प्रदान, स्रोत र अनुभव साझेदारी गर्दै विकासको गतिमा परिपुरक बन्ने प्रतिबद्धता प्रकट गरेका छन्।
कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले भौगोलिक, सामाजिक र आर्थिक दृष्टिकोणबाट फरक भए पनि एक–अर्काको अनुभव र प्रविधि आदान–प्रदान गर्न सकिने उल्लेख गर्दै भरतपुरसंग भएका अवसर र सम्भावना बाड्न भगिनी सम्बन्धले प्रेरित गरेको बताइन्।
मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले भरतपुर महानगरसँगको सहकार्यले स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा प्रशासनिक दक्षता वृद्धि जस्ता क्षेत्रमा उल्लेखनीय लाभ पुग्ने विश्वास व्यक्त गरे।
यो सम्बन्धले भौगोलिक दृष्टिले सुगम र दुर्गम क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै समावेशी र समतामूलक विकासमा टेवा पुर्याउने मद्दत मिल्ने विश्वास गरिएको छ।
भगिनी सम्बन्ध भनेको साझेदारी र सहकार्यको पुल हो, जसले दुई फरक भौगोलिक, सांस्कृतिक वा आर्थिक क्षेत्रबीच समन्वय, सहयोग र आपसी प्रगति सुनिश्चित गर्छ।