माओवादी नेतृत्वको महाभारत बन्यो बेरुजु नै नभएको देशकै एकमात्र पालिका

काभ्रे । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये काभ्रेको महाभारत गाउँपालिका बेरुजु नभएको एकमात्र पालिका बन्न सफल भएको छ ।

गत आर्थिक वर्षमा पनि शून्य बेरुजु रहेको महाभारतले त्यसलाई निरन्तरता दिदैँ शून्य बेरुजु कायम गर्न सफल भएको हो ।

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले महाभारत गाउँपालिकामा बेरुजु नै नभएको पुष्टि भएको हो । आर्थिक बर्ष ०८०/०८१ मा १ अर्ब २७ करोड ९४ लाख ५५ हजारको लेखापरीक्षण हुँदा बेरुजु शुन्य रहेको बताइएको छ ।

महालेखापरीक्षकको कार्यालयले बुधबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु ७ खर्ब, ३३ अर्ब, १९ करोड बेरुजु रहेको बताएको छ। तर, महाभारत गाउँपालिमा बेरुजु नहुनु सुखद पक्ष भएको अर्थ राजनीतिका बिश्लेषक डिपी ढकाल बताउँछन् ।

संघीयता र स्थानीय सरकारमाथि प्रहार भैरहदा महाभारत जस्तो बिकट पालिकाले आशाको सञ्चार गराएको उनले बताए ।

उनले स्थानीय सरकारको नेतृत्व सही भयो भने त्यसको परिणाम राम्रो हुने उल्लेख गर्दै ‘एक कफिको बोट, २० रुपैयाँको नोट’ अभियान चलाएर कफि पकेट क्षेत्र बन्दै गरेको महाभारत सरकार सुशासन र जनपक्षीय रहेको महालेखापरीक्षकको प्रतिवेदनले पनि पुष्टि गरेको प्रतिक्रिया दिए ।

बेरुजु भनेको सरकारी बजेट खर्च गर्दा तोकिएको नियम, प्रक्रिया वा कानुनको उल्लंघन गरी अनियमित रूपमा खर्च गरिएको रकम हो। सरल भाषामा भन्नुपर्दा, बेरुजु भनेको सरकारले दिएको पैसाको हिसाब नमिलेको स्थिति हो। 

कान्छालाल जिम्बाको नेतृत्वमा रहेको महाभारत गाउँपालिकामा रामबहादुर तामाङ प्रमुख प्रशासकीय अधिकृत र शान्ता भट्टराई लेखा प्रमुख रहँदा आर्थिक कारोबारको हिसाब सत् प्रतिसत मिलेको पाइयो र बेरुजु निस्किएन ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा नेकपा माओवादी केन्द्रका युवा नेता हुन् । माओवादी जनयुद्धको जगमा उभिएको महाभारतमा उनले जनमुक्ति मार्ग निर्माणको नेतृत्व गरिरहेका छन् ।

बागमती प्रदेशको गौरवको आयोजना अन्तर्गत जनमुक्ति मार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ, जसले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

बाख्रा र बंगुर प्रवर्द्धन कार्यक्रम तथा कृषक लक्षित सेवाले “मेरो सरकार स्थानीय सरकार” को अनुभूति दिलाउन सफल महाभारतले भौगोलिक बिकटताको बाबजुद विद्युतीकरण र शिक्षा क्षेत्रमा प्रगति गरिरहेको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा आफ्नो सिङ्गो टिमका कारण काम गर्न सहज भएको सुनाउँछन् । जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीका साथ बिना सुशासन सम्भव नहुने र सुशासन बिना कामको प्रगती नहुने उनको स्पष्ट धारणा रहेको छ ।

भौगोलिक बिकटताको बाबजुद महाभारतले गरेका प्रयास अनुकरणीय रहेको छन् । महाभारतले अन्य पालिकालाई पनि गरे सम्भव छ भन्ने सन्देश दिएको छ ।