काठमाडौं । भुटानको थिम्पूमा जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जितेका नेपाली खेलाडीलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्।
महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको विशेष प्रशंसा गर्दै प्रचण्डले टिम नेपालको समग्र प्रदर्शनप्रति सन्तोष व्यक्त गरे। उनले भने, “शारीरिक सुगठनजस्ता खेल राज्यको प्राथमिकतामा पर्ने गरेको छैन। अब राज्यले यसतर्फ ध्यान दिनुपर्छ। मेरो तर्फबाट सक्दो सहयोग हुनेछ।”
प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ। ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन्। महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण र शीला ठकुरीले रजत जिते। सोही समूहमा भारतकी सारा काँस्य पदक विजेता बनिन्।
पुरुष स्पोर्ट्स फिजिक १७५ से.मी. मुनीको समूहमा अवतार श्रेष्ठले रजत पदक जितेका छन् भने १७५ से.मी. माथिको समूहमा प्रतिस्पर्धा गरेका प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहे।
प्रचण्डले खेलाडीको मिहिनेत र समर्पणको प्रशंसा गर्दै शारीरिक सुगठनजस्ता खेललाई राज्यले सम्मान र स्रोतसाधन दिनुपर्नेमा जोड दिए।







