एसईईमा ४ जिपिए ल्याउने मजदुर परिवारकी श्रेष्ठलाई छात्रवृत्ति दिने सांसद थापाको घोषणा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्यालयबाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले घोषणा गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सामुदायिक विद्यालयमै पढेर ४ जिपिए ल्याएकी र आर्थिक अवस्था समेत कमजोर भएकी गोमालाई विद्यालय शुल्क मात्र होइन, पोशाक र कितावसमेत निःशुल्क व्यवस्था गर्ने घोषणा गरेका हुन्।

रामेछापको सुनापति-५ खनियापानी स्थायी घर भएकी गोमा भक्तपुरको चाँगुनारायणस्थित एक ईंटाभट्टामा अभिभावकसँगै बसेर चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन्।

गाउँमा घरदेखि विद्यालय टाढा भएकोले गोमाका बाबुआमाले उनलाई ४ वर्षको उमेरदेखि नै चाँगुनारायण ल्याएर पढाउन थालेका थिए ।

बहिनीहरु हेर्दै र बुवाआमालाई काममा सघाउदै अध्ययन अघि बढाएकी गोमा एसईईमा ४ जिपिए ल्याउने नगरपालिका अन्तर्गतका विद्यालयकै एक्ली विद्यार्थी बनेपछि उनको चर्चा चुलिएको छ ।

गोमाको परिवारको संघर्ष र गोमाको डाक्टर बन्ने लक्ष्य थाहा पाएपछि प्रतिनिधि सभा सदस्य थापाले उनलाई भेट गरी पूर्ण छात्रवृत्तिमा १२ कक्षा सम्म पढाइदिने प्रतिवद्धता प्रकट गरेका उनका स्वकीय सचिव सुभाशिष ढकालले बताए ।

सांसद थापाले गोमालाई नासा कलेजमा विज्ञान संकायमा पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने घोषणा गर्दै कक्षा १२ पछि पनि डाक्टर बन्न चाहेको अवस्थामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

“गोमा जस्तो लगनशील र मेहनती विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउनु आफैँमा उदाहरणीय हो,” सांसद थापाले बताएका छन्, “यस्ता विद्यार्थी अरूका लागि प्रेरणा बन्न सक्छन्।”

चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी ढकालले गोमा जस्ता विद्यार्थी कमजोर आर्थिक अवस्था भएका परिवारको प्रेरणाको श्रोत बन्न सक्ने बताउदै राज्यले उचित अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।

चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले संस्थागत निर्णय गरी गोमाको उच्च शिक्षामा योगदान गर्ने प्रतिक्रिया दिएका छन् ।

भक्तपुर जिल्लाभरीबाट भने ३० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।