काभ्रेपलाञ्चोक । कर तिर्न आनाकानी गर्ने उद्योगप्रति मण्डनदेउपुर नगरपालिकाले कडाइ गरेको छ। नगरपालिकाले पालिकामा सञ्चालित चार उद्योगहरूमा शुक्रबार तालाबन्दी गरिदिएको छ ।
नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागितामा गरिएको अनुगमनपछि तालाबन्दी गरिएको हो।
नगरपालिकाले जनाएअनुसार वडा नं. ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले २०७८/७९ देखि हालसम्मको कर करीब ४५ लाख ८४ हजार रुपैयाँ तिर्न बाँकी छ। बारम्बार ताकेता गर्दा पनि उद्योगले कर नतिरेपछि अन्ततः तालाबन्दी गरिएको नगरले जनाएको छ।
त्यस्तै, वडा नं. ६ मा रहेका कालीदेवी इँटा उद्योग र चण्डेनी–नगरकोट ब्रिक्स इन्डस्ट्रीज प्रालि, साथै वडा नं. ७ को दक्षिणकाली इँटा उद्योगमा पनि तालाबन्दी गरिएको छ।
कालीदेवीले करिब ६१ लाख ८४ हजार र दक्षिणकालीले ४५ लाख ८४ हजार कर तिर्न बाँकी रहेको छ।
त्यस्तै चण्डेनी–नगरकोट ब्रिक्स भने कानुनी रूपमा नगरमा दर्ता नै नभएको पाइएपछि सो उद्योग पनि बन्द गरिएको हो।
नगरप्रमुख वाइबाले भने, “नगरपालिकाले तोकेको मापदण्ड पालना नगर्ने र पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गर्ने उद्योगहरूप्रति कडाइ गर्नु परेको हो। जबसम्म कर नतिरी मापदण्ड पुरा गर्दैनन्, तबसम्म ताला खुल्दैन।”
उद्योगहरूमा तालाबन्दी गरेपछि ती उद्योगबाट कुनै पनि सामान ओसारपसार नगर्न निर्देशन दिइएको छ। वाइबाले थपे, “कर तिरेर कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै व्यवसाय सञ्चालन गर्न दिइनेछ।”
नगरपालिकाको यो कदम कर संकलनलाई प्रभावकारी बनाउँदै, कानुन पालना नगर्ने उद्योगहरूप्रति सन्देश दिन गरिएको बताइएको छ।