काठमाडौ । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” भन्ने मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति स्मारक, सामुदायिक वन परिसरमा भव्य सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
सफा वातावरण, हरियाली र स्वच्छ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा समाजका विविध क्षेत्रका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, स्थानीय नागरिक, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा थुलुङ राई सहजीकरण सोलुखुम्बुका पदाधिकारी र सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष पासाङ दोर्जे राईले छोटो मन्तव्य दिँदै भने, “पर्यावरण जोगाउने हाम्रो सानो प्रयासले ठूलो प्रभाव पार्न सक्छ ।” उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन पनि गरेका थिए ।
उपाध्यक्ष नरबहादुर राईले “एकता नै शक्ति हो, र त्यसै शक्तिको माध्यमबाट समाजसेवाका काममा निरन्तर अघि बढिरहेका छौँ” भन्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता प्रकट गरे।
थुलुङ राई सहजीकरण सोलुखुम्बुले विगतका वर्षहरूमा पनि विविध सामाजिक तथा वातावरणीय गतिविधिहरु गर्दै आइरहेको छ।
यो सरसफाइ कार्यक्रम संस्थाको बार्षिक योजना अन्तर्गत निरन्तरताको रूपमा सञ्चालन गरिएको सचिव भाइकाजी राईले जनाएका छन् ।
कार्यक्रमले सहभागिहरूमा सचेतना मात्र फैलाएको छैन, स्वच्छता र वातावरणप्रतिको जिम्मेवारीबोध समेत गराएको अभियन्ता जमिन राइले जनाएका छन् । उनले यस्ता कार्यक्रमको निरन्तरताको कामना गरे ।
कार्यक्रमका केही झलक


