आज विश्व रक्तदाता दिवस, ललितपुरमा यातायात श्रमिकको विशेष कार्यक्रम

blood donation
blood donation

ललितपुर । आज, जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । यो दिवस नेपालमा पनि रक्तदान र सो सम्बन्धी कार्यक्रम गरी मनाइँदैछ।

 “रगत दिनुहोस्, आशा दिनुहोस्:जीवन बचाऔ” भन्ने नाराका साथ मनाइरहेको विश्व रक्तदाता दिवस २०२५ को अवसर पारेर ललितपुरको लगनखेल बसपार्कमा आयोजित निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी यातायात श्रमिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

महावीर हेल्थ फाउण्डेसन, इनोभा हस्पिटल लाजिम्पाट, लोमस फर्मास्यूटिकल्स र माइक्रो ल्याब्स् लिमिटेडको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा मुटु, मधुमेह, रक्तचाप लगायतका रोगहरूको परीक्षणसँगै औषधि वितरण पनि गरिएको थियो।

दक्ष चिकित्सकहरूको टोलीद्वारा निशुल्क स्वास्थ्य जाँच सेवा प्रदान गरिएको सो शिविरमा ७८ जनाले रक्तदान गरेका छन्।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहँदै यस्तो मानवसेवी कार्यक्रमको आयोजना गरेवापत आयोजक तथा सहकार्य गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरे ।

महावीर हेल्थ फाउण्डेसनका अध्यक्ष दिपक भट्टाचार्यले विगतमा १२८ वटा स्वास्थ्य शिविर सम्पन्न गरिसकेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

इनोभा हस्पिटलका डाइरेक्टर डा. प्रिन्स रौनियारले सहभागीहरूको उत्साहप्रति खुसी व्यक्त गर्दै दक्ष चिकित्सकहरूको साथमा गरिएको सेवा प्रभावकारी भएको बताए।

लोमस फर्मास्यूटिकल्सका बजार निर्देशक ओम नारायण शर्मा र माइक्रो ल्याब्स् लिमिटेडका प्रबन्धक सन्तोष चक्रवर्तीले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रममा निरन्तर साथ रहने बताए।

कार्यक्रममा स्वतन्त्र यातायात श्रमिक संगठनका अध्यक्ष दिपक खड्काले शिविरले यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूलाई स्वास्थ्य लाभ पुर्‍याएको जानकारी दिए।

स्वास्थ्यप्रति सचेतना र रक्तदानप्रतिको जनचेतना फैलाउने उद्देश्यसहित गरिएको कार्यक्रम सहभागीहरूबाट सकारात्मक रूपमा लिइएको छ।