भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक तीनवटै पद्धतिबाट स्वास्थ्य सेवा प्रवाह गर्ने पहिलो पालिका बन्न सफल भएको छ ।
वडा नं. ७ नगदेशमा बिहीबार नगरपालिकाले होमियोप्याथिक स्वास्थ्य केन्द्र संचालनमा ल्याएसंगै चिकित्सा पद्धतिबाट सेवा दिने मध्यपुर थिमि पहिलो पालिका बन्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दावी गरेका हुन्।
“तीन प्रकारका स्वास्थ्य सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले होमियोप्याथिक केन्द्र स्थापना गरिएको हो र कार्यविधि नै बनाएर तीनैवटा स्वास्थ्य उपचार पद्धतिबाट उपचार गर्ने हामी पहिलो पालिका बन्यौँ।” नगर प्रमुख श्रेष्ठले भने ।
यसअघि नगरका ९ वटै वडामा एलोपेथिक र आयुर्वेदका स्वास्थ्य सेवा प्रदान हुँदै आएको थियो ।
नयाँ सञ्चालनमा आएको होमियोप्याथिक स्वास्थ्य केन्द्रमा दुई डाक्टर, एक नर्स र एक कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।
होमियोप्याथिक सेवा पूर्णतः निःशुल्क भएको नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताएका छन् । यहाँ बाथ, नसा सम्बन्धी समस्या, मृगौला, पित्तथैली, पाइल्स, छालाको रोग, ट्युमर, रुघाखोकी, ग्याष्ट्रिक, डिप्रेशनदेखि लिएर यौन रोग र प्रोष्टेटसम्मको उपचार नि: शुल्क गरिने उनले बताए ।
होमियोप्याथिकमा बिरामीको सम्पूर्ण शारीरिक, मानसिक र भावनात्मक अवस्था अनुसार औषधि दिइने र साइडइफेक्ट पनि नहुने मान्यता रहेकोले यस उपचार पद्धतिलाई नगरपालिकाले लागू गरेको उनले प्रष्ट पारे ।
उपप्रमुख श्रेष्ठले वैकल्पिक उपचारको रूपमा होमियोप्याथिक प्रभावकारी हुने विश्वास व्यक्त गरे।