बेथानचोकमा बस दुर्घटना : एक जनाको निधन, तीन घाइते

काभ्रे, जेठ २१ । काभ्रेको बेथानचोक गाउँपालिका–६ स्थित चिहानडाँडानजिक आज साँझ करिब ५:४० बजे एक यात्रुबहाक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पनौती बसपार्कबाट बेथानचोक–६ मेदाम्चु तर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस अनियन्त्रित भई झण्डै ३०/३५ मिटर तल खसेको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ढुङखर्कबाट प्र.स.नि. गेनलाल प्रसादको कमाण्डमा २ जना प्रहरी टोली, साथै प्रहरी चौकी खोपासी, पनौती र इलाका प्रहरी कार्यालय बनेपाबाट समेत थप टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा परी काभ्रे बनेपा नगरपालिका–९ की अन्दाजी ६५ वर्षीया कृष्ण माया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा सवार अन्य व्यक्तिहरूमध्ये तीन जना घाइते भएका छन्:

बस चालक राम प्रसाद ढुङगाना (४१ वर्ष), काभ्रे बेथानचोक–६ निवासी, हात र खुट्टामा चोट लागेकाले शिर मेमोरियल अस्पताल, बनेपामा उपचाररत छन्।

संगीता आचार्य (३२ वर्ष), बनेपा नगरपालिका–९ निवासी, खुट्टामा सामान्य चोट लागेकी उनलाई सुरुमा पाँगु भुगदेउ स्वास्थ्य चौकीमा उपचार गरिएको र पछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

आचार्यकी एक वर्षीया छोरी सरगम तिमल्सिनालाई टाउकोको बायाँ भागमा सामान्य चोट लागेपछि उनलाई पनि धुलिखेल अस्पतालमा रिफर गरिएको छ।

बसका सहचालक चेत बहादुर लामा (२७ वर्ष) र दुई जना अन्य यात्रु अञ्जना बोलाखे (१८ वर्ष) र कोपिला तिमल्सिना (१८ वर्ष) भने सकुशल रहेको बताइएको छ।

दुर्घटनाको विस्तृत विवरण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।