सरकारको अस्तित्व छैन : पूर्वसभामुख सापकोटा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारको अस्तित्व माथि गम्भीर टिप्पणी गरेका छन् ।

पूर्व सभामुख समेत रहेका सापकोटाले प्राविधिक रुपमा सरकारको अस्तित्व देखिएपनि नैतिक र राजनीतिक रुपमा सरकारको अस्तित्व नभएको दावी गरेका हुन् ।

बुधबार प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको तेस्रो बैठकलाई काठमाडौमा सम्बोधन गर्दै सापकोटाले कुशासन र भ्रष्टाचारको जालोमा जकडिएको सरकार प्रधानमन्त्रीले नभई बिचौलियाले चलाइरहेका बताए ।

दुई ठुला भनिएका राजनीतिक दलकै नेतृत्वमा रहेको सरकारले भ्रष्टाचार र कुशासनमा रेकर्ड कायम गरेको जिकिर गर्दै उनले यसबाट राजावादी तत्वले फाइदा उठाउन खोजेको टिप्पणी गरे ।

वर्तमान सरकारको कारण प्रतिक्रान्तिको खतरा हुनसक्ने भन्दै उनले सरकार र गणतान्त्रिक ब्यवस्थालाई फरक गरी जनतालाई बुझाइदिन प्रेस सेन्टरमा आवद्ध पत्रकारसंग आग्रह गरे ।

नयाँ पुस्ताले निरंकुश राजतन्त्र भोग्नु नपरे पनि चैत १५ को ट्रेलरले कुरुप राजतन्त्र उदाङ्गो भएको उनको भनाइ छ । बाहिर हल्ला गरेजस्तो नयाँ पुस्ताले गणतन्त्र मन नपराएको भन्ने प्रोपोगन्डालाई खारेज गर्न र गणतन्त्रको पक्षमा जनमत मजबुत बनाइराख्नु प्रेस जगतको कर्तब्य समेत भएको उनले बताएका छन् ।

सो अवसरमा उपाध्यक्ष सापकोटाले पत्रकारले मार्क्सवाद पढ्नुपर्ने पनि प्रष्ट पारे । समाज वर्गीय हुने र अधिकत्तम जनताको हित गर्न समाजवादी ब्यवस्था अपरिहार्य भएको भन्दै उनले समाजवाद तर्फ अघि बढ्नपर्ने आवश्यकता औल्याए ।

“त्यस्तो समाजवाद नेपाली मौलिकतामा आधारित हुनुपर्छ । त्यसैले नेपाली सन्दर्भमा मार्क्सवादको बिकास गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा बिकास निर्माणको क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी दिदै सो पार्टीका प्रवक्ता पनि रहेका सापकोटाले ती उपलब्धिको प्रचार गर्दै तराई मधेश तथा मध्यपहाडी क्षेत्रमा जनतासंग माओवादी अभियान चलाइएको र अहिले पार्टीले जनतामाझ नयाँ उचाई हासिल गरेको जानकारी गराए ।

“अभियानमा पार्टी र पार्टी अध्यक्षप्रतिको आकर्षक अभूतपूर्व देखियो ।” उनले भने, “जनताको आशा, भरोसा र बिश्वास हाम्रो पार्टी र हाम्रा अध्यक्षमै केन्द्रीत रहेछ भन्ने थाहा भयो ।”

मंगलबारबाट उपत्यकामा पनि पार्टीले जागरण अभियान शुरु गरेको र अब जनताको पहिलो रोजाइको पार्टी बन्नबाट माओवादी केन्द्रलाई कसैले रोक्न नसक्ने उनले दावी गरेका छन् ।