काठमाडौ महानगरका प्रहरी प्रमुखलाई कार्वाही

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् ।

महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई कार्वाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेपनि चित्तबुझ्दो जवाफ नदिएकाले उनी निलम्बनमा परेको जनाइएको छ  ।

गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।

उनी निलम्बनमा परे पछि काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई दिइएको महानगरले जनाएको छ ।

मेयर बालेन्द्र साह(बालेन) र प्रमुख प्रशासकीय अधिकृत गुरागाईँबीच चर्किएको अन्तर्द्वन्दमा प्रहरी प्रमुख पाण्डेले बालेनको आदेशमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनबाट रोक्ने प्रयास गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतलाई उपमेयर सुनिता डङ्गोलसहित कार्यपालिकाको साथ छ भने संघीय सरकार उनको ढाल बनेर उभिएको छ, जसकारण यतिबेला मेयर साह कमजोर देखिएका छन् । 

प्रहरी प्रमुख पाण्डेको कार्वाही मेयर लक्षित भएको महानगर श्रोत बताउँछ ।