काठमाडौँ, २१ जेठ । सामाजिक सञ्जालमा गालीगलौज र असभ्य टिप्पणी गर्ने प्रवृत्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक तनावको लक्षणको रूपमा व्याख्या गरेका छन् ।
बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवालाई जागिर खोज्ने भन्दा पनि सिर्जना गर्ने दिशातर्फ लाग्न प्रेरित गरे । उनले युवाहरूको उद्यमशीलता र नवप्रवर्तनलाई सरकारको उच्च प्राथमिकता रहेको भन्दै आगामी बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ कार्यक्रमलाई विशेष स्थान दिइएको जानकारी गराए ।
“युवाहरूले जे छ, त्यसैमा सन्तुष्टि मान्न हुँदैन । परिवर्तन र विकासका लागि असन्तुष्टि हुनु सकारात्मक हो, तर त्यसको अभिव्यक्ति सामाजिक सञ्जालमा मुख छाडेर गर्नु गलत हो,” प्रधानमन्त्री ओलीले भने । “अब युवाहरूले रोजगारी माग्ने होइन, सिर्जना गर्ने सोच राख्नुपर्छ । स्वदेशमै उद्यमशीलता, रोजगारी र नयाँपनका माध्यमबाट अवसरहरू सिर्जना गर्न सकिन्छ ।”
उनले पूर्वाधार विकासका ठूला योजनाहरू—सुरुङमार्ग, जलमार्ग लगायतमा काम भैरहेको उल्लेख गर्दै समृद्धिको यात्रामा सरकार युवासँगै रहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्रीले ‘आइडिया स्टुडियो’को प्रवर्द्धनमा तयार पारिएका स्वदेशी आविष्कार र उत्पादनहरूको प्रदर्शनी अवलोकन गरे । संस्थापक डा. छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले नवप्रवर्तनमा आधारित युवाहरूका सफल प्रयासबारे जानकारी गराए ।