आइपिएल जीतको उत्सवमा भागदौड मच्चिदा गयो ११ जनाको ज्यान

बेंगलुरु, भारत । १८ वर्षको प्रतीक्षापछि रोयल च्यालेन्जर्स बैंगलोर (RCB) ले पहिलोपटक इन्डियन प्रीमियर लिग(आइपिएल) उपाधि जितेपछि भएको उत्सवले बेंगलुरुमा ठूलो दुर्घटनाको रूप लिएको छ । स्टेडियमबाहिरको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् ।

चिन्नास्वामी स्टेडियम नजिक हजारौं फ्यानहरू अभिनन्दन समारोहमा सहभागी हुन जम्मा भएका थिए । तर भिड एक्कासी अनियन्त्रित हुँदा त्रासदीपूर्ण अवस्था सिर्जना भयो ।

एनडिटिभीका अनुसार मृत्यु हुनेहरूमा एक ६ वर्षीया बालिका पनि छिन्, भने २४ जना घाइते भएका छन् । अन्य रिपोर्टहरूमा गम्भीर घाइतेको संख्या ५० नाघेको उल्लेख छ ।

सामाजिक सञ्जालमा उत्सवका झलक हेरेर स्टेडियम पुग्नेको संख्या अपेक्षाभन्दा धेरै भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले निकै संघर्ष गर्नुपर्‍यो । उपस्थित सुरक्षाकर्मी पर्याप्त नहुँदा हजारौं मानिसले गेटबाट जबर्जस्ती प्रवेश गर्ने प्रयास गरे, जसका कारण भागदौड मच्चियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एम्बुलेन्स घटनास्थलमा पुग्न सुरुमा सडक जामका कारण ढिला भएको थियो । प्रहरी र सर्वसाधारणको सहयोगमा घाइतेहरूलाई नजिकका अस्पतालमा लगिएको छ । घटनास्थलमा केही मानिसहरू बेहोससमेत भएका थिए, केहीले घाइतेलाई सीपीआर दिइरहेको दृश्यसमेत देखिएको छ ।

एक फ्यान स्टेडियमको गेट चढेर भित्र पस्ने प्रयास गर्दा लडेर गम्भीर घाइते भएका छन् ।

कर्नाटक राज्य क्रिकेट संघले RCB लाई ऐतिहासिक उपाधि जितेपछि बधाई दिन आयोजना गरेको समारोहमा उत्साहको लहर चरममा पुगेको थियो । तर तयारीको अभाव र योजनाविहीन भिड व्यवस्थापनका कारण यो उत्सव दुःखद घटनामा परिणत भयो ।

कर्नाटकका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार नासिर अहमदले भने, “उत्सव व्यवस्थापनको तयारी गर्न समय नपुग्दा यस्तो अवस्था आएको हो । सुरक्षाकर्मीको संख्या बढाइएको छ र अवस्थालाई सम्हाल्ने प्रयास भइरहेको छ ।”

क्रिकेटको मैदानमा खुसीको क्षण सडकमा आँसुमा परिणत हुँदा आरसीबी फ्यान मात्र होइन, समग्र देश शोकमा डुबेको छ ।