भक्तपुर । अमेरिकी डलर सस्तोमा मिलाइदिने भन्दै कागज भिडाएर रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्ने ब्यक्ति सिन्धुपाल्चोक बाह्रबिसे-३ घर भई भक्तपुरको चाँगुनारायण–३ दुवाकोट बस्ने ३९ वर्षीय तारा बहादुर तामाङ हुन् ।
ताराबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।
नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छु भनि प्रलोभन देखाई पीडितलाई डलरको आकारमा काटिएको कागजको बिटो रूमालमा पोको पारेर दिएर नेपाली ३० लाख रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न रहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको बताइएको छ ।