संघको आग्रहले पछि हट्यो प्रदेश सरकार, बुधवारबाट सार्वजनिक यातायात संचालन हुने अपेक्षा

काठमाडौ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी आफ्नो नियमावली कार्यान्वयनबाट पछि हट्ने निर्णय गरेको छ। केन्द्र सरकारले सोमबार राति यातायात व्यवसायीसँग गरेको सहमति अनुसार प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्न आग्रह गरेको थियो ।

गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले नियमावली तत्काल लागू नगर्ने निर्णय भएको जानकारी दिँदै, केन्द्र सरकारको निर्देशनअनुसार आफूहरू अघि बढेको स्पष्ट गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मंगलबार प्राप्त पत्रका आधारमा प्रदेश सरकारले यस्तो निर्णय लिएको हो।

 केन्द्र सरकारसंग सहमति भएपनि प्रदेश सरकारले बनाएको नियमावली फिर्ता नलिएसम्म सार्वजनिक यातायात नचलाउने आन्दोलनरत यातायात ब्यवसायीले भने चेतावनी दिँदै आएका छन् । 

गण्डकी प्रदेश सरकारको पछिल्लो निर्णयसँगै आन्दोलन फिर्ता हुने अपेक्षा गरिएको छ ।