काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूमाथि कडा आरोप लगाउँदै उनीहरू भाडाका मान्छे ल्याएर उत्तेजना फैलाउने प्रयासमा लागेको बताएका छन्।
आइतबार काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वाइसीएल (Young Communist League) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले राजावादीहरूले कताकताबाट पैसा ल्याएर मानिसहरूलाई जाँड खुवाएर उफार्ने काम गरिरहेको बताए।
“पैसा त उनीहरूले थुपारेकै होलान्। त्यसकै भरमा भाडाका मान्छे ल्याएर छाडा बनाउने, उफार्ने, उत्तेजना फैलाउने काम भइरहेको देखिरहेको छु,” उनले भने, “हामी उनीहरूको सभा वा आन्दोलनमा जान चाहँदैनौं। तर उनीहरू छाडा भएर आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिन तयार हुनुहोस्।”
प्रचण्डले वाइसीएललाई यस्तो सम्भावित आक्रमणको प्रतिकार गर्न सतर्क रहन निर्देशन पनि दिए।
यसै क्रममा, उनले शनिबार नुवाकोटमा भएको घटनाको उदाहरण दिँदै एक जना राजावादी कार्यकर्ताले कार्यक्रम अवरुद्ध गर्न खोजेको स्मरण गरे। “म बोल्दै थिएँ, तर एक जना व्यक्ति प्रश्न गर्छु भन्दै मञ्चतर्फ उफ्रिन थाले। मैले भन्थेँ — यो प्रश्नोत्तर कार्यक्रम होइन। तर ऊ आक्रोशित मुद्रामा उफ्रिरह्यो। यस्तो छाडा प्रवृत्ति स्वीकार्य छैन,” उनले स्पष्ट पारे।