“राजा ल्याउँछु भन्नु जनतामाथिको अपमान हो” — सांसद गोसाइँ

भक्तपुर । बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाइँले “राजा ल्याउने” भन्ने प्रवृत्तिलाई जनतामाथिको सिधा अपमान भनेका छन्।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता गोसाइँले नेपाली जनताले साढे दुई सय वर्षसम्म राजतन्त्रको कठोर शासन भोगिसकेको स्मरण गराए। “फेरि राजा ल्याउँछु भन्नु भनेको जनतालाई सिधै लात्ताले हान्नु हो,” उनले भने, “यो सह्य कुरा होइन।”

हालको सत्ता संरचनामा रहेको भ्रष्टाचार र कुशासनको मारमा परेका जनतामाथि राजावादीहरूले भावनात्मक खेल खेल्न खोजेको उनले औंल्याए। तर त्यसको प्रतिवाद गर्दै राजतन्त्र अहिलेको व्यवस्था भन्दा धेरै नै असफल र दमनकारी ब्यवस्था भएको बताए ।

“त्यतिबेला न त सामाजिक सञ्जाल थियो, न त स्वतन्त्र पत्रकारिताको अवसर। सञ्चारका साधन थिए, तर राजाको बिरुद्ध बोल्न वा लेख्न बन्देज थियो,” उनले स्पष्ट पारे। अहिले सामाजिक सञ्चाल र सूचनाको पहुँच भएर मात्र कुराहरू बाहिर आएका उनले बताए ।

नेता गोसाइँले अहिलेका सत्ताधारीहरूलाई ‘बाँदर’ को संज्ञा दिँदै उनीहरूले जुनसुकै राम्रो कुरा पनि बिगार्ने गरेको टिप्पणी गरे। त्यसैले यस्ता असफल नेताहरूको कमजोरीलाई देखाएर सामन्ती सोचले फाइदा उठाउन खोजेको उनको तर्क छ।

देशमा आज देखिएको आर्थिक र राजनीतिक अस्थिरताको कारण नै दलाल पुँजीवादी व्यवस्था भएको उल्लेख गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता औंल्याए।

“गणतन्त्र सजिलै कमाएको होइन, राजतन्त्रलाई उखेलेर ल्याइएको हो,” गोसाइँले भने, “अब विकल्प भनेको फेरि राजतन्त्र होइन, अझ सबल र उन्नत गणतन्त्र हो।”

उनको धारणा अनुसार समाजवादी व्यवस्था नै नेपाली जनताको हितमा केन्द्रित, दिगो र न्यायपूर्ण शासन प्रणाली हो। “अब त्यो दिशातर्फ फड्को मार्न सके मात्र नेपाली जनताको वास्तविक शासन सुरु हुन्छ,” उनले दृढता व्यक्त गरे।