काठमाडौ । राइड सेयरिङसम्बन्धी विवादले यातायात व्यवसायी आन्दोलित भएका छन् ।
सोमबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा अनिश्चितकालीन यातायात बन्द सुरु भएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको निर्णय अनुसार सार्वजनिक सवारी ग्यारेजमै थन्किएका छन्।
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली तत्काल खारेज गर्न माग गरेका छन्। केही दिनदेखि गण्डकी प्रदेशमा मात्र आन्दोलनमा रहेका उनीहरूले अहिले आन्दोलनलाई देशभर विस्तार गरेका छन्।
यातायात बन्दले सर्वसाधारणलाई दैनिक आवतजावतमा ठूलो सास्ती भोग्नु परेको छ। कामकाज, विद्यालय तथा अस्पताल जानेहरू मारमा परेका छन्।
