पैसा असुलीमा ट्राफिक प्रहरी, मानवीयताको छैन मूल्य

काठमाडौ । ट्राफिक प्रहरी घामपानी नभनी सडकमा बसेका हुन्छन् । नागरिक सेवाको लागि कर्तब्य पुरा गरिरहेका ट्राफिक प्रहरीप्रति नागरिक स्वयं भने सकारात्मक छैनन् ।

प्रायः नागरिकले मन नपराउने ट्राफिक दयालाग्दो गरी सडकमा दौडिरहेकै हुन्छन् । ट्राफिक नागरिकबाट टाढा हुनुको एउटै कारण हो मानवीय मूल्य नबुझ्नु र आफ्नो मूल्य असुलीलाई मात्र महत्व दिनु ।

सोमबार यस्तै रुप वीर अस्पताल वरिपरि देखियो । ट्रमा सेन्टरमा ट्राफिक प्रहरी निरीक्षक अनुप अधिकारी नेतृत्वको ट्राफिक टोली बिरामीको आफन्त संग पैसा असुलीमा ब्यस्त बने ।

ट्रमा बिरामीलाई खाना पुर्याउन र भेट्न आएका आफन्तहरू ट्राफिक प्रहरीको एम्बुसमा परेका थिए । उनीहरूले मोटरसाइकल जथाभावी पार्किङ गरेको आरोप लगाउदै प्रहरी प्रति ब्यक्ति पाँच सय रुपैयाँ असुली रहेको थियो ।

‘नो पार्किङ’ को सूचना नराखी जरिवाना गराएको भन्दै मानिसहरु असन्तुष्ट थिए । इन्स्पेक्टर अधिकारीको टोली भने सूचना पाटी राख्न प्रहरी संग पैसा नभएको भन्दै लाचारी देखाइरहेका थिए ।

त्यतिमात्र होइन, कार्यालय समयमा ह्वील लक गरेर उनीहरू हिडेपछि कार्यालय जाने केही कामकाजी मानिस बिलखबन्दमा परेका थिए ।
सार्वजनिक यातायात संचालन नभएको दिन ट्राफिकले दु:ख दिएको भन्दै उनीहरुले असन्तुष्टि ब्यक्त गरे । बिरामीको तनावसंगै ट्राफिकले पनि तनाव थपिदिएको भन्दै उनीहरू चिन्तित देखिए ।

स्थानीय ब्यापारीसंगको मिलेमतोमा ट्राफिकले बेलाबखत यस्ता हर्कत गर्ने नजिकै चिया बेच्ने एक ब्यापारीले बताइन् । प्रायः यस्तो कार्वाहीमा मानिसहरू थाहा नपाएर परिरहेका र दोहोर्‍याए उनीहरू नआउने हुँदा जरिवाना नै गराइहाल्नु पर्ने कारण नभएको उनको भनाइ छ ।

“पटके भए पो जरिवाना गराउनु ।” उनले भनिन् “थाहा नदिने अनि कार्वाही गर्ने भन्दै ट्राफिक प्रहरी संग प्राय मानिसहरु बादबिबाद गरिरहेका हुन्छन् ।”

स्थानीयका अनुसार ट्राफिक पनि समस्या समाधानमा भन्दा जरिवाना उठाउन मात्र आउने गर्दछ । ट्रमा ब्यवस्थापनसंग ट्राफिकले समन्वय गरेको भए अस्पतालकै सुरक्षा गार्डले पार्किङ गर्न नदिने उनीहरूले बताए ।

“बाटोमा रोकेपछि कार्वाही हुन्छ भन्ने त बुझ्नुपर्यो नि ।” इन्स्पेक्टर अधिकारीले भने । अस्पतालसंग आफूहरूको सरोकार नभएको उनको भनाइ छ । यता बिरामीका आफन्त भने जो होचो उसकै मुखमा घोचो भने झैँ भएको बताउँछन् ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने यसबारे तत्काल बुझेर दीर्घकालीन समाधान निकाल्ने प्रतिक्रिया दिएको छ ।

ट्राफिक प्रहरीलाई सम्मान गर्नुपछ, तर उनीहरूबाट न्युनतम मानवीयता र परिस्थितिको बिश्लेषण अपेक्षित हुन्छ । नियममा शक्ति हुन्छ, तर मानवता गुम्दा त्यो शक्ति क्रूरतामा बदलिन्छ।