धुलिखेलमा ट्र्मा सेन्टरको सिलान्यास

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको शिलान्यास गरेका छन्।

नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो।

सेन्टर निर्माणका लागि जापान सरकारले तीन अर्ब दुई करोड ९६ लाख जापानी यान बराबरको आन्तरिक अनुदान प्रदान गर्नेछ। उक्त सहयोग परियोजना सम्बन्धी समझदारी सगरमाथा संवादका क्रममा नेपाल भ्रमणमा रहेका जापानका परराष्ट्र उपमन्त्री इकुइना आकिकोको उपस्थितिमा भएको थियो।

निर्माण सम्झौताअनुसार भवन निर्माणमा ६० प्रतिशत र आवश्यक सबै प्रकारका मेडिकल उपकरणमा ४० प्रतिशत जापानी सहयोग रहनेछ। प्रस्तावित भवनमा पार्किङ, आइसियु, तीनवटा अपरेसन थिएटर, एचडियु, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत सबै सेवा समावेश गरिनेछ।

सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तले भवन निर्माण गरिनेछ। परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनमा भवनको संरचना र आवश्यक पूर्वाधारको विस्तृत विवरण उल्लेख गरिएको छ।

“ट्रमा सेन्टर” भन्नाले गम्भीर चोटपटक, आकस्मिक दुर्घटना, आगलागी, प्राकृतिक विपत्ति वा अन्य आकस्मिक अवस्थामा परेका बिरामीको छिटो र प्रभावकारी उपचारका लागि विशेषरूपमा तयार पारिएको स्वास्थ्य संस्था वा अस्पतालको एकाइ (unit) हो।