डिएसपी, इन्स्पेक्टर र असई नै नक्कली

भक्तपुर । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को डिएसपी हुँ भन्दै ८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ।

त्यसैगरी, प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको नक्कली परिचय दिँदै रकम ठगी गर्ने थप दुई जना पनि पक्राउ परेका छन्।

पक्राउ परेका नक्कली डिएसपी भक्तपुरको सूर्यविनायक–२ बालकोटका ४१ वर्षीय अनिल थापा हुन् । थापाले जबरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ । उनलाई सिआइबीले मंगलबार मध्यपुर थिमि नगरपालिका–५ बाट पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, थापाले आफूलाई CIB को डिएसपी भनेर चिनाउँदै पीडितलाई विश्वासमा पारी रकम लिएको थिए।

थापालाई जिल्ला अदालतबाट सात दिन थुनामा राख्न अनुमति लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।

उनलाई २०७५ सालमा समेत ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पक्राउ गरिएको प्रकाउ गरिएको रेकर्ड प्रहरीले पुष्टि गरेको छ ।

फर्जी सिआइडी अधिकारी भन्दै ठगी गर्ने थप दुई पक्राउ

त्यसैगरी, वैदेशिक रोजगारीका लागि रकम उठाइदिने भन्दै ठगी गर्ने २ जना व्यक्तिलाई पनि कीर्तिपुर, ट्यांलाफाँटबाट पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा मकवानपुर, थाहा नगरपालिका–७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा, बुढिनन्दा नगरपालिका–३ का २८ वर्षीय ओब्जन चदारा रहेका छन्।

उनीहरूले आफूहरू प्रहरी निरीक्षक र सहायक निरीक्षक भएको भनी एक व्यक्तिबाट ४ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए।
वैदेशिक रोजगारीमा पठाउने भन्दै पीडितबाट रकम लिएको र ग्लोबल आइएमई बैंकको २ लाख ५० हजारको चेक दिएर उम्कन खोजेको आरोप छ।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाएको छ।