चितवन, ८ जेठ । जोगीको भेषमा तन्त्र-मन्त्र गर्ने नाउँमा सर्वसाधारणलाई झुक्याएर नगद र सुन चोर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित एक पीडितले तन्त्र-मन्त्र गर्ने भन्दै जोगीको भेषमा आएका व्यक्तिले आफूलाई लठ्ठ पारी नगद र सुनको मुन्द्रा लिएर फरार भएको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवन सक्रिय भएको थियो।
प्रहरीले अनुसन्धान गर्दै जाँदा रत्ननगर नगरपालिका–६ सौराहाबाट दुई जना युवकलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेहरूमा भारत, दक्षिण पश्चिमी दिल्ली नंगल देवतका १९ वर्षीय नितिन नाथ र सोही क्षेत्र नछफगढका २२ वर्षीय मंजित रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट पीडितबाट चोरी भएको नगद र सुनको मुन्द्रा बरामद गरिएको छ। हाल थप अनुसन्धानको कार्य जारी रहेको छ।