भक्तपुर । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरीले गए राति उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्ति भोजपुर स्थायी घर भएका २३ वर्षीय सुजन गिरी रहेका प्रहरीले जनाएको छ ।
उनलाई मध्यपुर थिमि नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए। नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि प्रहरी वृत्त थिमिले गिरीलाई पक्राउ गरेको बताइएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीको भनाइ छ।